
मुग, २३ कार्तिक –मुगुको पश्चिम खत्याड गाउँपालिकामा ३ साता अघिदेखि फैलिएको भाइरल ज्वरोको कारण ४ जनाको मृत्यु भएको छ । समयमा उपचार नपाउँदा ४ जनाको मृत्यु भएको स्थानीयले बताए ।
खत्याड गाउँपालीका वडा नं. १,२,३,४,५,६ र ७का बिभिन्न गाउँ वस्तीहरुमा ६ सय भन्दा बढी मानिस भाइरल ज्वरोका कारण थला परेका छन् । गाउँमा मानिसहरु सयौँको संख्यामा बिरामी परेको भएपनि अmझैसम्म औषधि उपचार पाएका छैनन् ।
बिरामीमा ज्वरो आउने, ढाड दुख्ने, टाउको दुख्ने,आँखा दुख्ने, नाकबाट सिगान जस्तो पानी बग्ने, औषधिले काम नगर्ने, खान मन नलाग्ने जस्ता रोगका लक्ष्यण रहेका छन् ।खत्याड ७ का वडा अध्यक्ष जयऋषी उपाध्ययको पहलमा जिल्ला स्वास्थ्य कार्यालयबाट केही औषधि ल्याइएको भएपनि बिरामीको संख्या धेरै भएकाले औषधि पर्याप्त छैन ।
स्वास्थ्य चौकी गम्थामा बिरामीको चाप बढिरहेपनि स्वास्थ्य चौकीमा औषधि नहुँदा रोगले भयानक रुप लिन थालेको स्वास्थ्य चौकीका अहेब जयपृथ्वी डागरलले बताए ।
रोग फैलिएको ३ साता भइसक्दा पनि रोगको एकिन हुन सकेको छैन । भाइलर ज्वरोका कारण गत कार्तिक ३ गते खत्याड १ साडबाडा गाउँका ५९ वर्षीय सिहं बुढाको मृत्यु भएको थियो । यस्तै कार्तिक १४ गते खत्याड ४ पैखु गाउँका ६५ वर्षीय धनसिहं थापा, कात्तिक २२ गते ८५ वर्षीया दलसुर थापा, ४४ वर्षीय मागी रोकायाको मृत्यु भएको स्थानीयले बताए ।
स्थानीय अमना थापाले आफूपनि ३, ४ दिन देखि थलापरेको तर अहिलेसम्म औषधि नपाएको बताइन् ।
सो क्षेत्रमा बच्चाबच्ची, बुढाबुढी, गर्भवती तथा सुत्केरी महिलाहरुलाई बढी असर गरेको उनको भनाइ छ ।
गाउँमा रोग फैलीएकोले अधिकांश घरमा बिरामी छन् । तर अहिलेसम्म औषधि उपचारको लागि कुनै निकायबाट पहल नभएको स्थानीयले गुनासो गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालको औषधि स्टोरमा पनि औषधि सकिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी गराए । २,३ भारी औषधी गम्था स्वास्थ्य चौकीमा पठाइसकिएको भन्दै उनले गाउँपालिकाले माथिल्लो निकायमा पहल गर्नुपर्ने बताए ।
देशमा संघ र प्रदेश सभाको चुनावी माहोलमा तातिइरहेको अवस्थामा अवस्थामा दुर्गम मुगुका ग्रामीण गाउँ वस्तीहरुमा रोगको बिकराल अवस्थाले जनताहरुलाई त्रसित बनाएको छ ।