
बुद्धिज एटलियर र आइडब्लूएस हेमकान्ति आर्ट ग्यालरी पोखराको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी एवं कला शिविरसहितको कार्यक्रम सञ्चालन भएका छन् ।
यही कात्तिक २१ गतेदेखि शुरू भएको कार्यक्रम २५ गतेसम्म चल्ने छ ।
कार्यक्रम पोखराको नयाँबजारस्थित गण्डकी प्रदेश सङ्ग्रहालयमा भइरहेको छ ।
जारी कार्यक्रमअन्तर्गत पहिलो दिन कात्तिक २१ गते कलाकारले आफ्नो कला प्रदर्शन गरेका थिए भने दोस्रो दिन कात्तिक २२ गते वरिष्ठ कलाकार आटानुर डोगनले पानी रङमा चित्र बनाउने सम्बन्धमा विद्यार्थीलाई अभ्यास गराएका थिए ।
सहभागी कलाकारले आज पोखराको बेगनास ताल, माझी कुनासहित गन्धर्व गाउँको अवलोकन भ्रमण गरेका छन् ।
आयोजक आइडब्लूएस हेमकान्ति आर्ट ग्यालरीका सञ्चालक हेमकान्ति गुरुङका अनुसार भोलि कात्तिक २४ गते कास्कीको पर्यटकीय गाउँ धम्पुसमा चित्रकला कार्यशाला हुने र कात्तिक २५ गते कार्यक्रम समापन हुनेछ ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले कला क्षेत्रको पुरानो विधा चित्रकला भएको बताउँदै कलाको माध्यमबाट पोखराको पर्यटनलाई विश्व जगत्मा थप उचाइमा पुर्याउन सकिने बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले कला प्रवर्द्धन र कलाकारको संरक्षणमा प्रतिष्ठानले गण्डकी प्रदेशमा काम गरिरहेको बताए।
चर्चित कलाकार आटानुर डोगनले प्राकृतिक रूपमा धनी सहर पोखरा आफैँमा रङ्गिन रहेको बताए ।
बुद्धिज एटलियरका संस्थापक अध्यक्ष बुद्धि गुरुङ, सञ्चारकर्मी मधु अधिकारीलगायतले कार्यक्रमको महत्त्वलगायत विषयमा आफ्ना धारणा राखेका थिए ।