
वायुसेवा कम्पनीले आफूखुसी बढाएको हवाई भाडा नियन्त्रण गर्ने विषयमा नागरिक उड्ययन प्राधिकरण र वायुसेवा कम्पनीबीच ४ बुँदे सहमति भएको छ ।
हवाई कम्पनीले आफूखुसी भाडा बढाएको भनी आलोचना भएपछि शनिबार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्वदेशी र विदेशी वायुसेवा कम्पनीका प्रतिनिधिलाई बोलाएर यसबारे छलफल गरेका थिए ।
सहमतिमा एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाई पछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गरिएको छ ।
यससँगै सहमतिको अर्को बूँदामा सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाई सेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार 'उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने' प्रावधानको पूर्णतः पालना गर्नुपर्ने बताइएको छ ।
साथै, सबै वायुसेवा सञ्चालकहरूले उडान वृत्त बमोजिमको हवाई भाडा सूची तोक्ने तथा सार्वजनिक गर्नुपर्ने पनि सहमतिमा उल्लेख छ ।
सहमतिअनुसार ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिमा रही मात्र सेवा शुल्क लिने गरी व्यवस्था मिलाउने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ ।
तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने र वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने सहमतिमा उल्लेख छ ।
प्राधिकरणका महानिर्देशक अधिकारीले लोकान्तरसँग भने, 'आज गरिएको सहमतिले भाडादर घट्छ । हामीले सबै वायुसेवा कम्पनीलाई सहमतिअनुसारको नयाँ भाडादर प्रकाशित गर्न निर्देशनसमेत दिएका छौं ।'
ट्याक्सी वे मर्मतका लागि त्रिभुवन विमानस्थल बन्द हुँदा ३० प्रतिशत उडान कटौती भएको बहानामा एयरलाइन्स र ट्राभल एजेन्सीको मिलेमतोमा नेपाल उडान गर्ने सबै अन्तर्राष्ट्रिय उडानका वायुसेवा कम्पनीले टिकट दर पाँच गुणासम्मले बढाएका थिए ।
शनिबारको छलफलमा प्राधिकरणका तर्फबाट महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीका सञ्चालकहरू सहभागी थिए ।