०४ साउन २०८३, सोमबार

रवि पक्राउबारे रास्वपा केन्द्रीय समितिको निर्णय: बढ्दो प्रभाव र जनसमर्थन दबाउने सुनियोजित षड्यन्त्र

कात्तिक २४, २०८१
काठमाडौं
रवि पक्राउबारे रास्वपा केन्द्रीय समितिको निर्णय: बढ्दो प्रभाव र जनसमर्थन दबाउने सुनियोजित षड्यन्त्र

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई पक्राउ गर्नुलाई सुनियोजित षड्यन्त्र भनेको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले रविलाई पक्राउ गरिनु सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको ठहर गरेको हो। बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोध समेत भनेको छ । 

संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भन्दै सोही अभियोगमा पक्राउ गरिनु राजनीतिक निषेध भएको रास्वपाको ठहर छ।

'पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रुपमा निषेध गर्न हो भन्ने प्रष्ट देखिन्छ', बैठकपछि कार्यवाहक प्रवक्ता मनिषा झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'कुनैबेला राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू आज नवीन विचार र आवाजलाई दबाउन उद्दत छन् । राज्यको यस्तो स्वेच्छाचारी र दमनकारी प्रवृत्ति नेपालको लोकतन्त्र, संविधान र विधिको शासन विपरीत छ । रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्न आग्रह गर्दछ ।'

रास्वपाले २०८० माघमा प्रधानमन्त्री समेतलाई बुझाइएको 'सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना' विषयक प्रतिवेदनका सिफारिसहरूलाई आधार मान्दै सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितहरूको सरोकार सम्बन्धी तृणमूल अभियानलाई गति दिन १ महिनाभित्र रास्वपाका सम्बन्धित पालिका संरचनाले आ-आफ्नो  क्षेत्रमा सहकारी नियमनको अवस्था यकीन गरी कार्ययोजना बनाएर पीडितहरूको बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रमको अगुवाई गर्ने पनि निर्णय गरेको छ।

यस्तै, आगामी मंसिर १६ हुने स्थानीय तहको उपनिर्वाचनमा स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको अवस्था, बेथिति र संगठित भ्रष्टाचारका विरुद्ध जनतामा जागृति फैलाउने अभियान सञ्चालन गर्ने समेत बैठकले निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताएका छन् ।

कमेन्ट गर्नुहोस्