
काठमाडौं, २३ कात्तिक — सन् २०१७ मा रुसी क्रान्तिको शताब्दी वर्ष मनाइँदैछ । तर जसको विचारका आधारमा यो क्रान्ति भयो, त्यो आज पनि प्रासंगिक छ त ?
जर्मन दार्शनिक कार्ल मार्क्सले उन्नाईसौं शताब्दीमा धेरै कुरा लेखे । तर उनका दुई कृति कम्युनिस्ट घोषणापत्र र दास क्यापिटलले कुनै समयमा धेरै देश र करोडौं मानिसमाथि राजनीतिक र आर्थिक रूपमा निर्णयात्मक असर पारेका थिए ।
रुसी क्रान्तिपछि सोभियत संघको उदय यसको उदाहरण थियो । बीसौं शताब्दीको इतिहासमा समाजवादी खेमाको गहिरो असर छ । तर मार्क्स र एंगेल्सले लेखेजस्तो साम्यवाद धरातलीय यथार्थमा उत्रिएन ।
अन्ततः समाजवादी खेमा ढल्यो र पूँजीवाद यो ग्रहमा लगभग पूरै छायो । जानौं मार्क्सका चार विचार जुन साम्यवादको असफलताका बाबजुद आज पनि प्रासंगिक छन् ।
१ राजनीतिक कार्यक्रम
कम्युनिस्ट घोषणापत्र तथा अन्य लेखहरूमा मार्क्सले पूँजीवादी समाजमा वर्गसंघर्षको कुरा गरेका छन् । अन्ततः संघर्षमा सर्वहारा वर्गले पूरै विश्वमा बुर्जुआ वर्गलाई हटाएर सत्ताकब्जा गर्नेछ ।
आफ्नो सबभन्दा प्रसिद्ध कृति दास क्यापिटलमा उनले यिनै विचारलाई तथ्यात्मक तथा वैज्ञानिक तरिकाले विश्लेषण गरेका छन् ।
उनको जीवनी लेखेका बेलायती लेखक फ्रान्सिस ह्वीन लेख्छन्, ‘मार्क्सले सर्वग्राही पूँजीवादविरुद्ध दार्शनिक तरिकाले तर्क राखे तर त्यो तर्कले पूरै मानव सभ्यतालाई प्रभावित पा–यो ।’
बीसौं शताब्दीमा मजदूरहरूले रुस, चीन, क्युबा र अन्य देशमा शासन गर्नेहरूलाई सत्ताच्युत गरे र निजी सम्पत्ति तथा उत्पादनका साधनमा कब्जा गरे ।
बेलायतको स्कूल अफ इकोनोमिक्समा जर्मन इतिहासकार अलब्रेख्त रिसल भन्छन्, ‘विश्वव्यापीकरणका पहिलो आलोचक मार्क्स थिए । उनले संसारमा आर्थिक असमानताका विरुद्ध चेतावनी दिए ।’
सन् २००८ को आर्थिक मन्दीले एकचोटि फेरि उनका विचारलाई प्रासंगिक बनायो ।
२ आर्थिक मन्दी दोहोरिने
पूँजीवादका पिता एडम स्मिथले वेल्थ अफ नेसनमा तर्क गरेविपरीत मार्क्सले बजार चलाउन कुनै अदृश्य शक्तिको भूमिका नहुने तर्क गरे ।
बरू उनले आर्थिक मन्दी त बारम्बार आइरहने र यसको कारण पूँजीवादभित्रै निहित रहेको बताए ।
अल ब्रेख्तका अनुसार, ‘पूँजीवाद पूरै सिद्धिनुअघि मन्दी आइरहन्छ ।’
सन् १९२९ मा शेयर बजार ध्वस्त भएको थियो र त्यसपछिको ठूलो झड्का सन् २००७÷०८ मा पुग्यो । त्यतिखेर संसारको आर्थिक बजार अभूतपूर्व रूपमा संकटग्रस्त भयो ।
विशेषज्ञहरूका अनुसार, यी संकटहरूको असर विशाल उद्योग भन्दा पनि वित्तीय क्षेत्रमा बढी प–यो ।
३ अकूत नाफा र एकाधिकार
मार्क्सको सिद्धान्तको महत्त्वपूर्ण पक्ष अतिरिक्त मूल्य हो । यो मूल्य एक मजदूरले मजदूरी गर्नुबाहेक पनि उत्पादन गर्छ ।
मार्क्सका अनुसार, उत्पादनका साधनका मालिक यो अतिरिक्त मूल्य लिन्छन् र सर्वहारा वर्गलाई अप्ठ्यारोमा पार्दै आफ्नो नाफालाई अत्यधिक बढाउन थाल्छन् ।
पूँजी एक ठाउँमा मुट्ठीभरका मानिसमा केन्द्रित हुन्छ र त्यसकारण बेरोजगारी बढ्छ र मजदूरी घट्छ ।
बेलायती पत्रिका दी इकोनोमिस्टको एक ताजा विश्लेषण अनुसार, दुई दशकयता अमेरिका जस्ता देशमा मजदूरहरूको ज्याला स्थिर छ जबकि अधिकारीहरूको तलब ४० देखि ११० गुणा वृद्धि भएको छ ।
४ विश्वव्यापीकरण र असमानता
मार्क्सका जीवनी लेखक फ्रान्सिस ह्वीनले पूँजीवाद आफ्नो चिहान आफैं खन्छ भन्ने मार्क्सको भनाइ गलत रहेको बताउँछन् । अहिलेसम्म त यसको विपरीत पो भएको छ । साम्यवाद बरू समाप्त भयो तर पूँजीवाद सर्वव्यापी छ ।
तर पेरिस विश्वविद्यालयमा दर्शनका प्राध्यापक र मार्क्सवादी विचारक ज्याक्स –यान्सियर भन्छन्, ‘चिनियाँ क्रान्तिका कारण स्वतन्त्र भएका शोषित र गरीब मजदूरहरू अहिले आत्महत्याको स्थितिमा छन् । पश्चिमलाई सुखसुविधा
दिलाउनका लागि यसो भइरहेको छ जबकि चीनको पैसाले अमेरिका जिउँदो छ । नत्र त ऊ टाट पल्टिन्थ्यो ।
मार्क्सका भविष्यवाणीहरू असफल भएपनि पूँजीवादको विश्वव्यापीकरणलाई आलोचना गर्नका लागि उनले कुनै गल्ती गरेनन् ।
कम्युनिस्ट घोषणापत्रमा उनले तर्क गरेअनुसार पूँजीवादको विश्वव्यापीकरण नै अन्तर्राष्ट्रिय अस्थिरताको मुख्य कारण हुनेछ । बीसौं र एक्काईसौं शताब्दीका अािर्थक मन्दीहरूले यस्तै देखाएका छन् ।
यसैले गर्दा विश्वव्यापीकरणका बहसहरूमा मार्क्सवादको उल्लेख बारम्बार हुन्छ ।
बीबीसीमा प्रकाशित म्याक्स सीत्जको रिपोर्ट