
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
दुई फरक पार्टीका नेता यतिबेला अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका छन् । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र एमालेका नेता तथा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लब अधिकारी हिरासतमा रहेका हुन् ।
लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान भइसरहेको छ । कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई रुपन्देही प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
यस्तै अधिकारीमाथि भने जापानमा मानव तस्करी गरेको गम्भीर अभियोग छ । यही प्रकरणमा दुई दिनअघि विराटनगरबाट पक्राउ परेका उनलाई काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको छ ।
००००
आइतबार साँझ मन्त्रिपरिषद् बैठकले डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौतासम्बन्धी ३ वटा निर्णय गर्यो ।
गत कात्तिक ८ गते लाइन काटिएका २८ उद्योगमा तत्काल लाइन जोड्न र टीओडी मिटरको तथ्यांकका आधारमा १५ दिनभित्र उद्योगीबाट बक्यौता उठाउन प्राधिकरणलाई निर्देशन दिने तथा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।
डेडिकेटेड र ट्रंक लाइन विवाद सम्बन्धमा अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सोमवार नै सार्वजनिक गरिएको छ ।
उक्त प्रतिवेदनमा लोडसेडिङका बेलामा २४सै घण्टा विद्युत आपूर्ति भएको अवस्थालाई डेडिकेटेड फिडर र कम्तीमा दैनिक ६ घण्टा लोडसेडिङ भएको अवस्थामा २० घण्टा निरन्तर विद्युत आपूर्ति भएको अवस्थालाई ट्रंक लाइन भनी परिभाषित गरिएको छ ।
तर, उद्योगीहरू प्रतिवेदनले परिभाषित गरेअनुसारको २४ सै घण्टा विद्युत उपभोग नगरेको दाबी गर्छन् । यदि गरेको भए प्रमाणका रूपमा टीओडी (टाइम अफ डे)को तथ्यांक मागिरहेका छन् । यही कारण नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ धर्मसंकटमा छन् ।
कुलमान आफूसँग सम्पूर्ण प्रमाण रहेको दाबी गरेका छन्, तर ती प्रमाण नदिइकन उद्योगीसँग बक्यौता असुल्ने प्रयत्नस्वरूप पटक पटक उद्योगको लाइन काट्दै र जोड्दै आएका छन् ।
यदि टीओडी मिटरको तथ्यांक छ भने त्यो दिएर उद्योगीसँग बक्यौता असुल्न उनलाई केले रोकेको छ त ? यसको जवाफ हो, उनले दाबी गरेअनुसारको तथ्यांक उनीसँग छैन । जनता अँध्यारोमा बसेका बेला उद्योगीले प्रिमियम शुल्क तिर्ने गरी आफ्नो उद्योगमा लाइन जोडेको विषयमा कुनै दुईमत छैन ।
००००
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन फिडरको बिलिङ शुरू नै गैरकानूनीरूपमा गरेको पाइएको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक भएपछि उक्त तथ्य खुलेको हो ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा विद्युत् महसुल निर्धारण आयोगले नयाँ महसुल दर स्वीकृत गर्नुभन्दा पहिल्यै प्राधिकरणले पैसा उठाउन क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको उल्लेख गरिएको छ ।
००००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा आएका छन् । उनले सा अवसरमा सोमबार महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरे ।
यस्तै रङ्गुन नदीमा तटबन्ध निर्माण, परशुराम नगरपालिका–६ र १२ जोड्ने रङ्गुन नदी र सलुन–शीर्ष–रुपाल जोड्ने सडकखण्डमा पक्की पुल निर्माण, सडक बाटोको स्तरोन्नति र कालोपत्रे गरिने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरे । लामो समयपछि देउवा गृहजिल्ला पुगेका हुन् ।
००००
सरकारले श्रम स्वीकृति नै नलिई विदेशम काम गरिरहेका नेपाली श्रमिकले अब श्रम स्वीकृति लिएर वैधानिक हैसियत प्राप्त गर्न पाउने व्यवस्था मिलाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई श्रम स्वीकृत दिने निर्णयगरेको मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
००००
काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये विभिन्न खेल प्रशिक्षणमा इच्छा व्यक्त गर्ने १० हजार ९९५ जना खेलाडीबाट छनोट प्रक्रिया अगाडि बढाएको छ ।
यस क्रममा सोमबार विद्यालय निरीक्षक, स्रोत शिक्षक, प्रधानाध्यापक, खेल शिक्षकहरुका लागि कार्य सञ्चालन योजनाका विषयमा अभिमुखीकरण आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
००००
भारतको दिल्ली हुँदै श्रम गन्तव्य मुलुक जानेहरू नेपालीलाई ‘नो अब्जेक्शन लेटर’ (एनओसी) नचाहिने भएको छ। यसका लागि श्रम स्वीकृति भए पुग्ने सोमबार दिल्लीस्थित दूतावासले सूचना जारी गर्दै उल्लेख गरेको छ ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग धन्दा बन्द गरेर देशलाई टाट पल्टिन नदिने बताएका छन् । सोमबार साँझ विराटनगरस्थित ह्यारिसन होटेलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले देश बिगार्न नदिने बताएका हुन् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जाने क्रममा जहाजमा उनीहरूबीच भेट भएको हो ।
००००
निर्वाचन आयोगले उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको छ ।
आयोगले सोमबार निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम देहायका ३२ जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र ६ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।
००००
सरकारले स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीको राजीनामा स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले लोहनीको राजीनामा स्वीकृत गरेको हो । उनले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएका थिए ।
००००
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले स्थानीय तहका रिक्त स्थानमा हुन लागेको उपनिर्वाचनका लागि तल्ला समितिबाट सिफारिस भई आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन पार्टी पङ्क्ति र जनसमुदायलाई आग्रह गरेको छ । यस्तै पार्टीले पुसमा केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।
००००
बागलुङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै सोमबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार २२ अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २२.१४ अङ्कले बढेर २७६०.२१ को बिन्दुमा अडिएको हो ।