
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको शिखर सम्मेलन कोप–२९ मा नेपालका लागि आफ्ना विषय राख्ने उपयुक्त अवसर भएकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
कोप–२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकुमा रहेका राष्ट्रपति पौडेलले ट्रेन्ड न्यूज एजेन्सीसँगको कुराकानीका क्रममा जलवायु परिवर्तनका कारण नेपाल जस्ता मुलुकले ठूलो समस्या भोग्नु परेको र विश्वले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताए ।
'जसरी बढ्दो जलवायु परिवर्तनका कारण मानव सभ्यता, संस्कृति र पृथ्वीलाई नै चुनौती दिइरहेको छ, यसले हामीलाई इतिहासको महत्वपूर्ण मोडमा ल्याएको छ', राष्ट्रपति पौडेलले भने, 'अवस्था यति गम्भीर छ कि संयुक्त राष्ट्रसंघले विद्यमान जलवायु संकट समाधानका लागि उपयुक्त उपाय अवलम्बन गर्न असफल भयौँ भने यस शताब्दीको अन्त्यसम्म तापक्रम तीन दशमलव १० डिग्री सेल्सियससम्म वृद्धि हुनसक्ने चेतावनी दिएको छ ।'
राष्ट्रपति पौडेलले विश्व नै जलवायुसम्बन्धी समस्यामा परेको र यी समस्या समाधानका लागि सबै एकजुट हुनुको विकल्प नभएको उल्लेख गरे । उनले कोप प्रेसिडेन्सी ट्रोइकाले तयार पारेको मार्गचित्रमा सहकार्यका लागि नेपाल तयार रहेको तथा हरित विश्वको अवधारणामा आफ्नो ऐक्यबद्धता रहेको समेत स्पष्ट पारे ।
साथै, बाकुमा आयोजना भएको सम्मेलनलाई सफल पार्न नेपालको पूर्ण सहयोग रहने राष्ट्रपतिको पौडेलले प्रतिबद्धता जनाए ।