०६ साउन २०८३, बुधबार

बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

कात्तिक २७, २०८१
काठमाडौं
बाकुको आह्वान : कार्वन उत्सर्जन रोकौँ, पृथ्वी जोगाऔँ

संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूका राष्ट्रप्रमुख र सरकार प्रमुख सम्मिलित शिखर सम्मेलनमा जलवायु परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै कार्बन उत्सर्जनको न्यूनीकरणमा जोड दिइएको छ । 

बाकुमा जारी शिखर सम्मेलन, कोप–२९ मा सहभागी वक्ताहरूले जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमान र हरित ग्यास उत्सर्जन रोक्नका लागि विश्व समुदायको साझा ऐक्यबद्धतासहितको पहल आवश्यकता औँल्याए । उनीहरूले जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा विश्वका हरेक व्यक्ति प्रभावित भएको उल्लेख गर्दै त्यस्ता असरलाई कम गर्नका लागि सबै राष्ट्रको ध्यान जानुपर्ने बताए । 

सम्मेलनलाई सम्बोधन गर्दै नेपालका राष्ट्रप्रमुख रामचन्द्र पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गरे । उनले भने, “हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले ख्याल गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई सङ्कटमा पुर्‍याउँछ भन्ने विश्वले बिर्सन हुन्न ।”

राष्ट्रपति पौडेलले विश्व समुदायलाई आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यस सम्मेलनमा सहभागी भएको स्पष्ट पारे । गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए। जलवायु परिर्वतनको मारबाट पृथ्वीनै सङ्कटमा रहेको भन्दै उनले विशेष गरी गरिब, अल्पविकसित, विकासशील तथा साना टापु मुलुकहरू यसको पीडाबाट बढी प्रभावित रहेको जानकारी गराए । 
सोमबारदेखि सुरु भई आगामी मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा चल्ने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) लाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पछिल्ला चुनौतीलाई सम्बोधन गर्नका लागि जलवायुको वित्तमा नयाँ सम्झौता हुनुपर्नेमा जोड दिए । विश्वको तापमान १ दशमलव ५ डिग्री सेल्सियस तापमान वृद्धिलाई सीमित गर्न पर्याप्त तयारी गर्न आवश्यक रहेको उनको भनाइ छ । 

उद्घाटन समारोहमा अजरबैजनका राष्ट्रपति इल्हामले विश्वभरका करिब दुई सय मुलुकका प्रतिनिधिलाई स्वागत गर्दै सबैलाई जलवायुले निम्ताएका समस्या समाधान गर्न एकता कायम गर्न आग्रह गरे । 

संयुक्त राष्ट्र जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु सङ्कट तीव्र गतिमा अर्थतन्त्रलाई नष्ट गर्ने कारक बन्दै गरेको बताए । 
 
सम्मेलनस्थल बाकुमा सम्मेलनमा भाग लिन विश्वका करिव दुई सय मुलुकका राष्ट्रप्रमुखदेखि अन्य उच्च व्यक्तित्वहरू कोपमा सहभागी छन् । कोपमा उपस्थित यी प्रतिनिधिहरु हरिया पहिरनमा जताततै देख्न सकिन्छ भने कार, ट्याक्सीलगायतका सवारी साधनमा कोप–२९ को लोगो र प्रचार सामग्री छापिएका देखिन्छन् । बाकुका होटेलहरू भरिभराउ छन् । सहभागीहरू तारे होटेल, सामान्य होटेल, कोठा, अपार्टमेन्ट र होस्टलहरूमा उपलब्धता र आर्थिक हैसियतानुसार बसेका छन् । सम्मेलनमा ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति तथा ३५ देशका प्रधानमन्त्री सम्मेलनमा सहभागी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्