
प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला जाँदै छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी जुम्ला जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्रीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अञ्जनीकुमार झालगायत पनि सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम छ ।
प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् ।
दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ ।