
सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा नेता-कार्यकर्ताले बुधबार भैरहवामा प्रदर्शन गरेका छन्। भैरहवाको बुद्धचोकमा जम्मा भएका रास्वपा कार्यकर्ता एवं समर्थकहरूले भैरहवाको सिद्धार्थनगर नगरपालिका परिक्रमा गर्दै विरोध जनाएका हुन्।
बुद्धचोकमा आयोजित कोणसभामा रास्वपा उपसभापति डीपी अर्यालले आफ्ना नेता उम्काउने र विपक्षीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धानको नाममा दुःख दिने गरेको आरोप लगाए। रविमाथि अन्याय भएको दाबी गर्दै सबै नेपाली जनताले यसको खबरदारी गर्नुपर्ने अर्यालले बताए।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ। मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेको अहिले सरकारी वकिल कार्यालय, भैरहवामा बयान चलिरहेको छ। मंगलबार बयान नसकिएपछि उनको बुधबार बिहानैदेखि बयान चलिरहेको सरकारी वकिल कार्यालयले जनाएको छ।
रूपन्देहीमा रविविरुद्ध सहकारीको रकम ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रास्वपाका सभापति, पूर्वगृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई बिनाशर्त छाडिनुपर्ने र सहकारी पीडितलाई न्याय दिनुपर्ने प्रदर्शनकारीको माग छ। रास्वपाले भैरहवाको विद्रोहीचोक र मिलनचोकमा पनि कोणसभा गर्दैछ।