
काठमाडौँ महानगरपालिकाले दुई दिनमा १२ जना बालबालिकाको उद्धार गरेको छ । कामपाले गत मङ्गलबार र बुधबार १२ जना बालबालिकालाई श्रम र असुरक्षित बालगृहबाट उद्धार गरेको हो ।
मङ्गलबार वडा नंं १ मा रहेको खाजा घरबाट जोखिमपूर्ण श्रममा भेटिएका १४ वर्षीय बालकलाई उद्धार गरिएको छ । बुधबार वडा नं २ खुर्सानीटारमा रहेको बेसहारा असहाय बाल सुधार सङ्घ नामक संस्थाका राखिएका १० जना बालक र एक जना बालिकाको उद्धार गरिएको हो ।
“उद्धार भएका बालबालिकाको पारिवारिक लेखाजोखा र मनोविमर्श गरिनेछ”, उद्धारमा खटिनुभएका बाल संरक्षण अधिकृत सुनिता शाहले भनिन्, “उद्धार गरिएका बालबालिकालाई लेखाजोखा र मनोविमर्शपछि प्राप्त हुने मनोसामाजिक प्रतिवेदनका आधारमा पारिवारिक पुनःमिलन तथा वैकल्पिक हेरचाहको प्रबन्धमध्ये कुनमा लैजाने भन्ने निर्णय हुनेछ ।”
कामपाको हटलाइन नम्बरमा बालबालिकाको नाजुक अवस्था रहेको, उनीहरूका नाममा अवैध चन्दा सङ्कलनलगायत काम भइरहेको सूचना प्राप्त भएको थियो । प्राप्त सूचनाका आधारमा बालबालिकाको सद्धार गरिएको कामपाको भनाइ छ ।