०६ साउन २०८३, बुधबार

ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कात्तिक ३०, २०८१
विराटनगर
ग्रामथानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत एवं मोरङ जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईले सो कार्यालयको आज उद्‌घाटन गरेका हुन् ।  ग्रामथान गाउँपालिकाको कार्यालयमा रहनेगरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापनापछि मुख्य निर्वाचन अधिकृत भट्टराईले आजै सर्वदलीय छलफल गरेका छन् ।

उनले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बताए । छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मुख्य निर्वाचन अधिकृत भट्टराईले निर्वाचन कार्यक्रम मङ्सिर २ गतेदेखि शुरू हुने र पहिलो दिन बिहान १० बजेदेखि मनोनयन दर्ता र यसका लागि राजनीतिक दलहरूलाई समय पनि निर्धारण गरिएको बताए ।

निर्वाचन आचारसंहिता, मनोनयन दर्ताका लागि आवश्यक जानकारीबारे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दङ्गालले जानकारी गराएका थिए ।

सात वडा रहेको ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् ।

ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्