११ साउन २०८३, सोमबार

नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भएपछि भारतले भन्यो- ऐतिहासिक उपलब्धि

कात्तिक ३०, २०८१
काठमाडौं
नेपालबाट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भएपछि भारतले भन्यो- ऐतिहासिक उपलब्धि

​​नेपालले भारत हुँदै ४० मेगावाट विद्युत बंगलादेशलाई बिक्री गर्न शुरू गरेपछि भारतले यसलाई ऐतिहासिक उपलब्धि भनी टिप्पणी गरेको छ । 

भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'नेपालबाट भारत हुँदै बंगलादेशमा पहिलो त्रिपक्षीय विद्युत् व्यापार शुरू हुनु दक्षिण एशियाली उर्जा सहकार्यका लागि ऐतिहासिक कदम हो ।'

शुक्रवारदेखि भारतको विद्युत् ग्रीडमार्फत नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् आपूर्ति शुरू गरेको हो । 

उक्त परियोजनाको उद्‌घाटन संयुक्त रूपमा नेपाल, भारत र बंगलादेशका उर्जा मन्त्रीले गरेका थिए ।

नेपालको उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित भर्चुअल कार्यक्रममा नेपालका उर्जा मन्त्री दीपक खड्का, बंगलादेशका उर्जा मन्त्रालयका सल्लाहकार मोहम्मद फौजुल कबिर खान र भारतका उर्जा तथा आवास मन्त्री मनोहर लालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

विज्ञप्तिमार्फत भारतीय विदेश मन्त्रालयले भनेको छ, 'यो विद्युत व्यापारले तीनवटै देशका अर्थतन्त्रलाई परस्पर रूपमा फाइदा पुर्‍याउनेछ ।'

भारतले नेपालको ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात गर्न भारतीय ग्रिड प्रयोग गर्न दिने निर्णय नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा गरेको थियो ।

त्रिपक्षीय विद्युत् कारोबारका लागि नेपाल विद्युत् प्राधिकरण (एनईए), बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) र भारतको एनटीपीसी विद्युत् व्यापार निगमबीच २०२४ अक्टोबर ३ मा काठमाडौंमा सम्झौता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्