१० साउन २०८३, आइतबार
जीवनदर्शन

प्राणी स्वभाव: कारण र परिणाम

मंसिर १, २०८१
काठमाडौं
प्राणी स्वभाव: कारण र परिणाम

संसारभरकै प्राणीसमुदायको स्वभाव के हुन्छ भने आफूलाई देखाउनु, आफू भएको बोध गराउनु, आफूलाई सिद्ध गर्नु । हरप्राणी अनादि कालदेखि स्वत्वको खोजीमा छ, स्वत्वको लडाईँमा छ, स्वत्वको लडाईँ गर्दै आएको छ । सबैको एक मात्र उद्देश्य हुन्छ आफूलाई कसरी देखाउने, कसरी अरूको नजरमा पर्ने, कसरी अरूलाई जित्ने, कसरी उछिन्ने । जन्मदैदेखि शुरू हुने उसको यो लडाईँ नमरुञ्जेल चलिरहन्छ ।  

प्रश्न उठ्न सक्छ कसरी ? उत्तर सहज छ । बृद्ध भए खोकिरहेको होला, ऐय्या आत्थु भनिरहेको होला, बालक भए कराउला, चिच्याउला, रोइदेला । युवा भए फुर्तीफार्ती गरिरहेको होला, जोश र जाँगर देखाइरहेको होला । रोगीले रोगै देखाउँछ, भोगीले भोगै देखाउँछ । भोकोले भोकै देखाउँछ । विद्वान्ले विद्वता प्रदर्शन गर्लान्, मूर्खले मूखता नै प्रदर्शन गर्ला । गरीबले गरीबी, धनीले धन, बलियाले बल, बुद्धिमान्ले बुद्धि र विवेकीले विवेक देखाउला । 

कवि हृदय हुनेले कविता लेख्लान्, काव्य लेख्लान्, महाकाव्य लेख्लान् । साहित्यकारले कथा लेख्लान्, उपन्यास लेख्लान्, लेखकले लेख–निबन्ध लेख्लान्, किताब लेख्लान् । 

कानूञ्चीहरू कानूनका ठेली लेखिरहेका होलान्, कानूनको व्याख्या गरिरहेका होलान् । कलाकारले कला देखाउला, सिल्पीले सीप देखाउला । गीतकारहरू गीत लेखिरहेका होलान् । गला हुने  गाउलान्, बजाउन जान्नेहरू बजाउलान्, नाच्न जान्ने नाच्लान् । नाटक लेख्ने पनि होलान्, देखाउने पनि होलान् । सिनेमा बनाउने पनि होलान्, देखाउने पनि होलान् । 

अभिनय गर्ने पनि होलान्, विचार दिने पनि होलान्, दर्शन दिने पनि होलान्, सिद्धान्त दिने पनि होलान् । प्रवचन दिने पनि होलान्, भाषण दिने पनि होलान् । समग्रमा हरेकले आफूसँग जे छ त्यही देखाउँछन्, त्यही दिइरहेका हुन्छन् । आखिर जे दिए पनि, जे देखाए पनि सबैको उद्देश्य भनेको आफूलाई देखाउनु हो, आफ्नो अस्तित्व सिद्ध गर्नु हो, आफू भएको प्रमाण दिनु हो । 

पशुपक्षीको अवस्था पनि त्यस्तै हो । स–साना चरा चिरबिर गर्लान्, कागले कागै भन्ला, क्वैलीले कुहुँकुहुँ गर्ला, तित्राले तित्रै भन्छ, ढुकुरले ढुकुर नै भन्छ । कुखुराले कुखुरा नै भन्छ । चिलगिद्धले उसकै स्वाभाव देखाउँछ । पशुहरूले उसकै स्वभाव देखाउँछ । 

कोही माया गर्ने होलान्, कोही डर देखाउने होलान् । कोही दुवै देखाउने होलान् । रुखबिरुवा वनस्पतिको अवस्था पनि त्यस्तै हो । कसैले फूल देखाउला, कसैले फल देखाउला, कसैले अमृत देलान् कसैले बिष देलान् । कुनैले प्राण देलान्, कुनैले लेलान् । जसले देखाए पनि आखिर उनीहरूको पनि उद्देश्य आफूलाई देखाउनु नै हो, आफू भएको सिद्ध गर्नु नै हो ।  

प्रश्न उठ्न सक्छ त्यसको कारण के होला ? उनीहरूले किन त्यस्तो गरेका होलान् ? यहाँ पनि उत्तर सहज छ यसको मूल कारण भनेको राम्रो ‘म’ हो । सबैलाई आफैँ राम्रो लाग्छ, आफ्नै विचार राम्रो लाग्छ, आफ्नै सिद्धान्त राम्रो लाग्छ । सुँगुरलाई आफ्नै शरीर राम्रो लाग्छ, कुकुरलाई आफ्नै शरीर राम्रो लाग्छ । कीरा, कमिलालाई त्यस्तै हुन्छ, सर्प, बिच्छी, माकुरालाई त्यस्तै हुन्छ, बाघ, भालु, गैँडा, हात्तीलाई त्यस्तै लाग्छ । त्यसैले त त्यसमा अलिकतिमात्र आघात पर्न खोज्यो भने पनि प्रतिकारमा उत्रन्छन् । अन्तिम क्षणसम्म बचाउने प्रयास गर्छ । 

पुनः प्रश्न गर्न सकिन्छ यसको परिणाम के कस्तो निस्केला ? उत्तरमा यही भन्न सकिन्छ– जड प्राणीले मात्र देखाउँछ, केही गर्दैन । आफैँ जड छ आखिर गरोस् पनि के । कसले के भन्छ, कसरी लिन्छ वास्ता गर्दैन । जसले जसरी लिन्छन् वा हेर्छन् त्यसैमा चित्त बुझाउन बाध्य हुन्छ । चेतन प्राणी त्यसमा पनि खासगरी मानिसले भने केही गर्छ । राम्रो पनि गर्छ नराम्रो पनि गर्छ । त्यसमा पनि राम्रोभन्दा नराम्रो नै बढी गर्छ । अशान्ति मच्चाउन सक्छ । हत्या, हिंसा र बलात्कारलाई निम्त्याउन सक्छ । लोभ बढाउन सक्छ, ईष्र्या बढाउन सक्छ । अरूलाई जित्न वा उछिन्न खोज्ला, चाहे विचारमा होस् चाहे सिद्धान्तमा अस्वस्थ प्रतिस्पर्धा गराउन सक्छ । गाली, गलौज, घृणा, तिरस्कार, युद्ध, मारकाटको स्थिति सिर्जना गर्न सक्छ । 

यहाँनेर अर्को प्रश्न गर्न सकिन्छ त्यसको रोकथाम कसरी गर्न सकिएला ? यसको एकमात्र उपाय हो अर्काको अस्तित्व स्वीकार गर्नु तर, त्यो त्यति सजिलो छैन । यसका लागि त सर्वप्रथम जस्तो अर्काको बोली, वचन र व्यवहार आफूलाई मन पर्दैन त्यस्तो व्यवहार अरूलाई नगर्ने अवस्थामा पुग्नुपर्ने हुन्छ ।

यो काम त्यतिबेला सम्भव हुन्छ जति बेला धर्मग्रन्थ सुध्रन्छ,, धर्मगुरु सुध्रन्छन् । विचारक सुध्रन्छन्, राजनी सुध्रन्छ, राजनीतिक दल सुध्रन्छन्, सरकार सुध्रन्छ, शिक्षानीति सुध्रन्छ, पाठ्यक्रम सुध्रन्छ, पाठ्यपुस्तक सुध्रन्छ, संस्कार सुध्रन्छ, संस्कृति सुध्रन्छ, जसले विजयी भवको सट्टा समन्वयी भवको सिद्धान्त प्रतिपादन गर्छ । समग्रमा भन्नुपर्दा जतिबेला अरूलाई सुध्रनुपर्छ भन्ने नभई सुधारको प्रयास आफैँबाट हुन थाल्छ तब स्वतः रोकथाम हुन पुग्छ ।

salt training

कमेन्ट गर्नुहोस्