२३ जेठ २०८३, शनिबार

चुनावी कार्यक्रम छाडेर घर बनाउँदै भूकम्पपीडित, चुनावी रौनकले छोएन

कात्तिक २४, २०७४
चुनावी कार्यक्रम छाडेर घर बनाउँदै भूकम्पपीडित, चुनावी रौनकले छोएन

धादिङ, २४ कात्तिक–पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गए पनि धादिङको रुबीभ्याली गाउँपालिकामा यतिखेर चुनावी रौनक छैन । 

भूकम्पबाट अति प्रभावित सो गाउँका स्थानीयले घर निर्माणमा लागिपरेका कारण त्यहाँ चुनावी रौनकले छोएको छैन । अर्को महिनासम्म घर बनाउनै पर्ने बाध्यताका कारण सिङ्गो गाउँ अहिले घर निर्माणमा लागिपरेका छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए पनि चुनाव प्रचारप्रसारका लागि दल र त्यसका नेता गाउँ छिर्न सकेका छैनन् । भूकम्पपीडितको घर निर्माण, बस्ती स्थानान्तरण र व्यवस्थापनमा कुनै चासो नदेखाएकाले उनीहरु गाउँ जानसकेका छैनन् । 

रुबीभ्याली गाउँपालिका–५ चपाङचेतका म्लाङ घले घर निर्माणमा व्यस्त छन् । पहिरोको उच्च जोखिममा रहेको हुँदा सो गाउँमा बस्न हुँदैन भनेर पुनःनिर्माण प्राधिकरणले भनेका थिए तर सम्बन्धीत निकायले बस्ती स्थानान्तरणमा चासो नदेखाएपछि बाध्य भएर उनीहरु त्यही गाउँमै घर बनाउन थालेका छन् । 

गाउँमाथिबाट पहिरो आइरहेको छ । गाउँ जाने बाटो भूकम्पले क्षति पु¥याएका थिए । पहिरोेका कारण अहिले पनि स्थानीय जोखिमपूर्ण तरिकाबाट चपाङचेत र छुम्राङ जानुपर्छ । घर निर्माणका लागि यो ठाउँ उपयुक्त नभएको भनेर पुनःनिर्माण प्राधिकरणले एकवर्ष अघि नै प्रतिवेदन दिएको थियो । तर त्यहाँ रहेका ५४ घरपरिवारले त्यही नयाँ घर बनाउन शुरु गरेका छन् । 

गाउँवासीले वैकल्पिक बस्ने व्यवस्थाका लागि जिल्लाका नेतासँग पटक÷पटक आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई पनि पटक पटक भेट गरें तर समस्या समाधान भएन् । पहिलो किस्ता लिएका लाभग्राहीले घर नबनाए रकम नदिने सूचना आएपछि अहिले उनीहरु चुनावी कार्यक्रम छाडेर जोखिम बस्तीमै घर निर्माणमा जुटेका छन् । 

स्थानीय सरकारले नै यो समस्याको समाधान गर्छ भनेर गाउँवासीले स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भएका थिए । तर गाउँपालिकाका अध्यक्ष काठमाडौंमा बस्ने र भूकम्पपीडितको समस्या समाधानमा चासो नदिएपछि आक्रोसित बनेका स्थानीयले यतिखेर घरनिर्माणमा व्यस्त भइरहेको स्थानीयवासी अमन तामाङले बताए । 

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउनै लाग्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान चलाइरहेका छन् । भूकम्पपीडितको गाउँमा घरदैलो कार्यक्रममा जाने योजना बनाएका नेता गाउँवासी आक्रोसित भएको सूचना पाएपछि लोकतान्त्रिक र वाम गठबन्धनका नेता सो गाउँमा जानसकेका छैनन् । 

प्रतिनिधिसभाका लागि मंसिर १० गते हुने निर्वाचनमा धादिङको २ नं. क्षेत्रमा १७ उम्मेदवारले प्रतिस्पर्दा गर्दैछन् । वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य खेम लोहनी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य दिलमान पाख्रिन प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् । 

संविधानसभा निर्वाचन २०७० मा यस क्षेत्रबाट एमालेले विजय हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनमा पनि वाम गठबन्धनले मतका हिसाबले अगाडि देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्