
राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे चीनको १० दिने औपचारिक भ्रमण सकेर बिहीबार साँझ स्वदेश फर्किएकी छन् ।
चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा भाग लिएर उपाध्यक्ष घिमिरे स्वदेश फर्किएकी हुन् ।
चीन भ्रमणका क्रममा राष्ट्रिय सभाका उपाध्यक्ष घिमिरेले चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बातरसँग बेइजिङमा भेटवार्ता गरेकी थिइन् ।
भेटवार्ताका क्रममा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति चीनको निःशर्त सम्मानको नेपालले कदर गर्ने बताउँदै ‘नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको तथा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याएकी थिइन् ।
उनले कात्तिक २८ देखि ३० गते सम्म भएको दोस्रो ग्लोबल साउथ थिंक ट्याङ्क संवादमा सम्बोधन गरेकी थिइन् । उपाध्यक्ष घिमिरेले भ्रमणका क्रममा जियाङ्सु, बेइजिङ र हुबेई प्रान्तको भ्रमण पनि गरेकी थिइन् ।
उपाध्यक्ष घिमिरे कात्तिक २७ गते चीन प्रस्थान गरेकी थिइन् ।