दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले दर्ज्यानी चिह्न लगाएका छन् ।
मंसिर ६ गते एआईजीमा बढुवा भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शुक्रबार दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।
राष्ट्र, जनता र संगठनप्रति पुर्याएको योगदानको उच्च मूल्यांकनका आधारमा गुरुङ र ढकाललाई पदोन्नति गरिएको उनले बताए ।
त्यसक्रममा उनले प्रहरीको संस्थागत विकास, सांगठनिक सुदृढीकरण र संगठनको वृहत्तर हितका लागि आवश्यक नीति निर्माण तथा दीर्घकालीन महत्त्वका रणनीतिक योजना निर्माणमा अझ बढी क्रियाशील र समर्पित हुन निर्देशन समेत दिए ।
दर्ज्यानी चिह्न लगाएपछि एआईजी गुरुङले संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठा, इमान्दारिता एवं लगनशीलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।