
सामान्यता प्रमुख सत्तारुढ दलले सडकमा प्रदर्शन गरेर आफ्नो कुरा जनतालाई सुनाउने परम्परा विश्वमा छैन ।
तर, यसविपरीत प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दरबारमार्गमा शुक्रबार जागरण सभा राखेर अर्थपूर्ण सन्देश दिन खोजेका छन् ।
ठ्याक्कै ४० मिनेट सम्बोधन गर्ने क्रममा ओलीले सत्ता समीकरणप्रतिको प्रतिबद्धता, आफूमाथि लागेका आरोप खण्डन, अर्थतन्त्रलाई अप्ठ्यारोबाट उठाउने प्रयास, छिमेकीसँगको सम्बन्ध र आसन्न चीन भ्रमणको औचित्य प्रस्ट्याउने तथा बढ्दो अराजकतालाई काउन्टर दिने प्रयास गरेका छन् ।
सत्ता समीकरण बलियो रहेको दाबी
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा भएको सभामा ओलीले पहिलो प्राथमिकता भने सरकार ढल्दैन भन्ने कुरा प्रस्ट्याउनमा दिए ।
प्रतिस्पर्धी कांग्रेससँगको समीकरण धेरै अर्थमा बाध्यकारी हुने र अर्को चुनावसम्म जाने दाबी उनको थियो ।
‘आज मंसिर ७ गते एमाले सरकारमा छ । एमाले सरकारमा भएरै पनि सभा गरिरहेको छ । के हो, कसो हो भन्ने परिरहेको छ । सरकार बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदैन भन्थे, पायो । एक महिना, दशैंतिहार, कात्तिक महिना कट्दैन भन्थे, कट्यो,’ ओलीले भने, ‘अब फरबरी (फागुन)को कुरा गर्लान् । म भन्न चाहन्छु, २०८४ सालको मंसिरको चुनावसम्म अहिलेको समीकरण रहन्छ । सबैले कान खोलेर सुने हुन्छ ।’
ओलीले अब १८/१८ महिना आफू र कांग्रेस सभापति प्रधानमन्त्री बन्ने पनि प्रस्ट्याए । ‘२०८३ असारसम्म म प्रधानमन्त्री रहन्छु । मैले प्रधानमन्त्री छाडेर देउवाजीलाई जिम्मा लगाउँछु, । अब मैले अब १८ महिना चलाउँछु । त्यसपछि देउवाजीले १८ महिना चलाउनुहुन्छ,’ ओलीले भने ।
कांग्रेस–एमाले प्रतिस्पर्धी पार्टी भए पनि अराजकता ल्याउने, देश र लोकतन्त्रलाई मास्न खोज्नेविरुद्ध एकजुट हुनुपरेको ओलीले बताए ।
‘भ्रममा नपुर्नुस्, कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन् । तर, अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा हाम्रो एकताको कुरा हो । देश, लोकतन्त्र र संविधानलाई मास्न खोजिएको छ । अराजकता ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ,’ ओलीले भने, ‘नेपाली जनताले ठूलो संघर्षले ल्याएको लोकतन्त्र, जनताको सर्वोच्चता र सार्वभौम जनताको हैसियतलाई समाप्त पार्न खोजिएको छ । हामी यसविरुद्ध एक भएर उभिन्छौं ।’

अर्थतन्त्र उकास्ने प्रयास !
ओलीले ओरालो लागेको अर्थतन्त्रलाई उकास्न पनि कांग्रेससँग समीकरण बनेको बताए ।
‘यो समीकरण सोचिकन बनेको हो, किनकि देशको अवस्थालाई हेरेर, अधोगतिलाई हेरेर बनेको हो,’ ओलीले भने, ‘देशको ढुकुटीमा पैसा छैन । उद्योगधन्दा बन्द छन् । अघिल्लो वर्षभदा २४ प्रतिशत कम राजस्व उठेको छ । तस्करी बढेको छ । सरकार आफैं पनि कानूनमा बसेर चल्नुपर्छ । सरकारले कसैसँग सेटिङ गर्दैन, गर्न मिल्दैन ।’
ओलीले उद्योगी–व्यवसायीलाई ढुक्कसाथ लगानी गर्न आग्रह गरे ।
‘उद्योगी–व्यापारी, उद्यम गर्न चाहने, स्टार्टअप गर्न चाहनेले नयाँ व्यवसाय शुरू गर्नुहोस्, वातावरण सरकारले बनाउँछ,’ ओलीले भने, ‘पयर्टन व्यवसाय अहिले धरापमा परेको छ । तर, सधैँ यही अवस्था रहँदैन । केही समयमै यसलाई सुधार्छौं ।’
पर्यटन, सेवा, होटल सबै क्षेत्रलाई सरकारले सुधार्ने उनले बताए ।
नेपाल शान्तिपूर्ण र पुरानो शिक्षालय रहेको भन्दै ओलीले पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिए ।
‘नेपाल शान्तिपूर्ण देश हो । तपाईं यहाँ सुरक्षित हुनुहुन्छ । घुम्नुहोस् । आनन्द लिनुहोस् । यो पुरानो शिक्षालय हो । यो प्रकृतिको अध्ययन गर्ने ठाउँ हो,’ ओलीले भने, ‘२०२५ लाई हामीले भ्रमण वर्षको रूपमा मनाउँदैछौं । आउनुहोस्, नेपाल भ्रमण गर्नुहोस् ।’
चीन भ्रमण सफल हुने सन्देश, छिमेकीलाई सुझाव
भारतभन्दा पहिले चीन भ्रमण गर्न खोजेको र बीआरआईले समस्या हुने भन्दै चलेको चर्चाबारे पनि ओलीले प्रस्ट पार्न खोजेका छन् । ओलीले चीन भ्रमण सफल हुने गरी एजेन्डा तय भएको संकेत पनि भाषणका क्रममा दिए ।
‘प्रधानमन्त्रीको हैसियतमा यही मंसिर १७ गतेबाट चीनको भ्रमणमा जाँदैछु । चीन भ्रमण अत्यन्तै सफल हुन्छ । चीनबाट फर्किएपछि कसरी सफल भयो, थाहा पाउनुहुनेछ । म पनि भन्नेछु,’ ओलीले भने, ‘यत्तिकै चीन घुमेर आउन होइन, देशको भलाइका लागि जान लागेको हुँ ।’
भारत छाडेर चीन जान लागेको विषयमा पनि ओलीले सहजरूपमा तर्क दिएका छन् ।
‘हामी भौगोलिक अखण्डताको रक्षा गर्दै, राष्ट्रिय हित गर्दै छिमेक सम्बन्धलाई सुदृढ बनाउन चाहन्छौं । तर, पहिले कता जानुपर्ने कता गयो भन्ने हल्ला छ । कता जानुपर्ने ?,’ ओलीले प्रश्न गर्दै भने, ‘धर्मशास्त्र, कानून, संयुक्त राष्ट्र संघको बडापत्रमा लेखिएको छ पहिले कहाँ जानुपर्ने भनेर ? यो सबै वाहियात र कायर कुरा हुन् । सबै छिमेकीसँग पारस्परिक सम्बन्धका आधारमा समान व्यवहार गर्छौं । कोही शत्रु छैन । वैरभाव राख्दैनौं ।’
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको चीन भ्रमणलाई चिनियाँ कार्डको संज्ञा दिएका थिए । तर, ओलीले प्रचण्डको भनाइको खण्डन गरे ।
सत्ता सहयात्री दल कांग्रेसले ओलीको चीन भ्रमणमा बीआरआईमा ऋण होइन, अनुदान मात्रै स्वीकार्नुपर्छ भनेर लिएको अडानबारे पनि उनले केही संकेत गरेका छन् ।
‘सकेसम्म कतैको ऋण लिन चाहेको छैनौं । तर, उत्पादन कसरी बढाउन सकिन्छ भनेर आशा जगाउने काम गर्नुपर्छ,’ बीआरआईमा बीचको केही बाटो र शर्त राखेर कुरा गर्न सकिने आशय ओलीको बोलीमा देखिएको छ ।

‘हल्लाको पछाडि नलाग्नुस्’
ओलीले धेरैले नराम्रो हल्ला चलाए पनि त्यसको पछाडि नलाग्न अपिल गरे ।
‘धेरै मान्छेले धेरै प्रकारका हल्ला चलाएका छन् । एमाले कागले कान लग्यो भनेर कुद्ने पार्टी होइन । कति वर्ष राजतन्त्र र राणातन्त्रले अल्मल्याए । यी सबैलाई चिरेर विजयस्वरूप संघीय गणतन्त्रसम्म पुगेका हौं,’ ओलीले भने, ‘भ्रम फिँजाएपछि यसमा पर्छन् भन्ने सोच्न सक्छन् । झूट र अराजकता मच्चाएपछि यसैमा परे भनेर सोच्न पनि सक्छन् । तर, हामी कुइरोको काग बन्दैनौं ।’
गौरवपूर्ण परम्परालाई कायम राख्दै अगाडि बढ्ने ओलीले बताए ।
‘नेपालको गौरवपूर्ण संस्कृति र परम्परा छ । यसलाई कायम गर्दै विकास, समृद्धि र सुशासनको बाटोमा अघि बढ्छ,’ ओलीले भने, ‘समृद्ध नेपालको संकल्प पूरा गर्ने दिशामा अघि बढ्छ ।’
आफूमाथि लागेको आरोप खण्डन
कम्बोडियाको टेलिकममा ३२ हजार करोड लगानी गरेको आरोपको पनि ओलीले डटेर प्रतिवाद गरेका छन् । ‘कम्बोडियामा ३२ हजार करोड छ, स्वीस बैंकमा यति हजार करोड छ, भन्दिए त भो, तपाईंहरू हेर्न जान सक्नुहुँदैन,’ ओलीले भने, ‘अमेरिकाका बैंकमा रहेको आधा पैसा मेरै हो ल, भन्देऊ न भन्दिनका लागि ।’
ओलीले थपे, ‘कम्बोडिया ४ घण्टामै पुगिन्छ । यहाँबाट थाइल्यान्ड, अनि त्यहाँबाट ५०/५५ मिनेटमा कम्बोडिया पुगिन्छ । त्यो देशको टेलिकममा कसले लगानी गरेको छ भन्ने सिधै थाहा हुँदैन र ? जसले यस्ता कुराहरू फैलाएर हिँड्छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने अवस्था आउँछ । त्यस दिशातर्फ सरकार जान्छ । केही मान्छेले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजिरहेका छन् ।’
एमालेले बढ्दो अराजकता, दण्डहीनता र निराशाविरुद्ध सन्देश दिन गरेको सभामा ओलीले आशा गर्ने ठाउँ पनि थुप्रै रहेको सन्देश प्रवाह गरे ।
शिक्षा, स्वास्थ्य, पूर्वाधारको स्थितिमा धेरै सुधार भएको भन्दै उनले जायज असन्तुष्टिलाई सम्बोधन गरेर जाने बताए । बरु निराशा फैलाउनेलाई नियन्त्रण गर्ने उनको भनाइ थियो ।
‘लोकप्रियतावाद होइन, ढाँटवादमा कोही–कोही लागेका छन् । मुख छाडेर गाली गर्नुलाई लोकप्रियतावाद भन्न मिल्दैन, यो ढाँटवाद हो,’ ओलीले भने ।
सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको भन्ने रास्वपाको आरोप पनि ओलीले खण्डन गरे ।
‘कोही निर्दोष फस्दैन । कुनै पनि निर्दोषलाई फसाउन दिइने छैन । कुनै पनि दोषीलाई उम्कन दिइने छैन, मैले यो बारम्बार भनेको छु,’ ओलीले भने, ‘सहकारी ठगी, मानव तस्करी सैह्य हुनेछैन । जुनसुकै पक्षको होस्, संरक्षण गर्दैनौं । अपराध गर्नेलाई एमालेले छाड्दैन । मैले नेतृत्व गरेको सरकारले छाड्दैन । मिलीजुली संयुक्त सरकारले छाड्दैन ।’
उनले सहकारी ठगी प्रकरणमा रवि मात्रै होइन, आफ्नै पार्टीका सांसद समेत समातिएकाले प्रतिशोध साँधेको भन्न नमिल्ने प्रस्ट्याए ।
ओलीले ‘बिग्रन नदिऔं, एकताबद्ध भएर परस्पर माया, आत्मीयता र एकताका साथ अगाडि बढौं’ भनेर भाषणको बिट मारेका थिए ।