
नेपालगञ्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।
उपमहानगर कार्यालयले उपमहानगरभित्रका सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत लक्षित समूहका १० प्रतिशत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नगरप्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा उपमहानगरपालिकाको नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सीमान्तकृतलगायत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
पटकपटक पत्राचार गर्दासमेत सेवाग्राहीबाट गुनासो आएको भन्दै उपमहानगरले अब पनि उक्त निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ ।