२६ असार २०८३, शुक्रबार
कोशीमा कार्यरत एक्लो महिला उपसचिव

शिक्षक सेवाको रिजल्ट आउन ढिलो हुँदा उपसचिव बनेकी दुर्गा

मंसिर ८, २०८१
विराटनगर
शिक्षक सेवाको रिजल्ट आउन ढिलो हुँदा उपसचिव बनेकी दुर्गा

कोशी प्रदेशमा कार्यरत एक्लो महिला उपसचिव हुन् दुर्गा बराल । हाल सामाजिक विकास मन्त्रालयमा कार्यरत उनी खोटाङको दिप्रुङ चुइचुम्बा गाउँपालिकामा जन्मिएकी हुन् । मन्त्रालयमा पनि उनले दुई वटा महाशाखा सम्हालेकी छिन् । प्रशासन तथा योजना महाशाखा र सामाजिक विकास महाशाखा उनको काँधमा छन् । 

उनको बाल्यकाल सुखद् नै बित्यो । उनी ३ वर्षको हुँदा बुवाआमा विराटनगरमा बसाइ सरेर आएका थिए । विराटनगरकै गोग्राह माध्यमिक विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरिन् । 

एसएलसी उत्तीर्ण गरेपछि उनले महेन्द्र बहुमुखी क्याम्पस विराटनगरमा आईकम पढिन् । बीकम (ब्याचलर कमर्स)मा पढाइ शुरूआत गर्दैगर्दा उनको विवाह भयो  । विराटनगरकै किशोरकुमार बरालसँग उनको विवाद भएको थियो । विवाहपछि कलेज गएर पढ्ने वातावरण नमिले पनि घर परिवारले कुनै रोकटोक गरेनन् । पढाइमा उनी फस्ट बेचर हुन् । ब्याचरल सकेपछि उनी धनकुटा गइन् । श्रीमानको जागिर धनकुटा भएकाले उनी पनि श्रीमानसँगै गएकी थिइन् ।

धनकुटामा उनलाई त्रिवेणी माध्यमिक विद्यालयमा जागिर खाने अफर आयो । उनले डिप्लोमा भर्खर मात्रै सकेकी थिइन् । आन्तरिक स्रोतबाट पैसा दिनेगरी उनले जागिर शुरू गरिन् । 

‘शिक्षक भएपछि हेडमास्टर हुनुपर्ने रहेछ भन्ने मनमा उब्जियो,’ उनले भनिन्, ‘अनि एक बर्से बीएड पनि गरें ।’ उनले जनकपुरबाट बीएड गरिन्। त्रिभुवन विश्व विद्यालयअन्तर्गत पूर्वमा त्यति बेला बीएड गर्न जनकपुर नै पुग्नु पर्ने बाध्यता थियो ।

उनका श्रीमानको काठमाडौं सरुवा भयो । ‘ब्याचलर पढ्दा नै एउटा बच्चा जन्मिसकेको र अर्को गर्भमा थियो । हातमा किताब हुन्थ्यो । कहिलेकाही राति बच्चा बिरामी हुन्थ्यो । ‘अनिँदो भएर पनि पढाइका लागि भने संघर्ष गर्नु परेका छ,’ उनले भनिन् ।

सानो बाबु तीन वर्षको भएपछि केही काम गर्नुपर्छ भनेर आयोगमा परीक्षा दिन थालेको उनी बताउँछिन् । महिला विकास कार्यालयमा उनले अधिकृतमा नाम निकालिन् । उनको पहिलो पोस्टिङ ताप्लेजुङमा भयो । २०५४ पुस १८ गतेदेखि उनी सरकारी जागिरे भइन् । उनी माघको अन्तिमबाट कार्यालयमा हाजिर भएकी थिइन् । जागिरको सिलसिलामा दुर्गा धेरै जिल्लामा पुगेकी छन् । सुदूरपूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्म उनी पुगिन् । 

दुर्गममा जागिर भएकाले मास्टर (डिग्री) गर्न भने उनले केही वर्ष पर्खनु पर्‍यो । बच्चाहरू साना भएकाले पनि उनको पढाइ केही वर्ष धकेलिएको थियो  । ताप्लेजुङमा उनले ५ वर्ष कार्यालय प्रमुख भएर बिताइन् । त्यसपछि सुनसरीमा उनले साढे ४ वर्ष बिताइन् ।

धनकुटा पनि महिला विकास कार्यालय प्रमुख भइन् । मोरङमा पनि उनी लामो समय कार्यालय प्रमुख भएर बसिन् । त्यसपछि आफ्नो व्यक्तिगत जीवनमा समेत असर हुन्छ भन्ने लागेर डिग्री गरेको उनले बताइन् । पछि उनले ग्लोबल कम्पिटिसनमा भाग लिइन् । उनले युरोपको नेदरल्याण्डमा छात्रवृत्ति (स्कलरसिप) पाइन् । नेदरल्यान्डबाट उनले ग्रामीण विकासमा मास्टर गरिन् । 

जागिरमा एउटा धोको भने उनको अधुरो रहेको छ । ‘कर्णाली पठाइ दिन्छन् कि भनेर पहिला डर लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले चाहिँ किन गइनँ छु भनेर एकदमै मिस हुन्छ ।’

२०५२ सालमा दुर्गाले शिक्षक सेवा आयोगको लिखित परीक्षा दिएकी थिइन् । नतिजा २०५६ सालमा आयो । अझैं ‘फाइनल रिजल्ट’ आउन थप दुई वर्ष कुर्नुपर्‍यो । त्योभन्दा अगाडि नै उनी अधिकृत भैसकेकी थिइन् ।

डोटीमा पनि धेरै कुरा सिकेको उनी बताउँछिन् । घर आउन जान मात्रै समस्या भएको उनले बताइन् ।  संस्कृतिदेखि दिदीबहिनीको समस्याबारे बुझ्ने अवसर पाएको उनले बताइन् ।

भूगोलको हिसाबले मात्रै काम गर्दा समस्या भोग्नु परेको उनले बताइन् । पारिवारिक र सामाजिक पीडा भने उनले भोग्नु परेन । तर, दुर्गाले कार्यालय प्रमुख महिला भन्ने विभेद भने खप्नु परेको थियो ।  जिल्लाभरिका सरकारी कार्यालयमा कार्यालय प्रमुख एक जना महिला मात्रै हुन्थे । महिला विकास कार्यालयमा मात्रै । अधिकांश महिलाहरू सिंहदरबारभन्दा बाहिर गएर जागिर खान गाह्रो मान्थे । दुर्गा पनि रहरले नभई बाध्यताले मात्रै ताप्लेजुङ्ग गएकी हुन् । 

कार्यालय प्रमुख नै महिला भएकाले जान उनी बाध्य भइन् ।  पुरुष नै पुरुष कार्यालय प्रमुख भएको ठाउँमा आफू एक जना महिला प्रमुख मात्रै भनेर हीनताबोध हुने गरेको उनले बताइन् ।  त्यो बेला उनी परिपक्व भएकी थिइनन् । कामको परिपक्वता नआउँदा हीनताबोध भएको उनी सम्झिन्छिन् ।

उनको जागिरे जीवनको शुरूआत भने रोचक छ । ‘कार्यालयमा फोन आउँथ्यो । फोन उठायो हाकिम साबलाई फोन दिनु भनेर भन्थे । हाकिमसाब बोल्दै छु कसलाई खोज्नुभयो भन्यो भने होइन हाकिम साबलाई दिनुन भनेर भन्थे,’ उनले भनिन् । 

कसलाई हाकिम भनेर खोज्छन् भनेर बुझ्दा लेखा अधिकृत र कार्यालय सहयोगी पुरुषलाई हाकिम भनेर चिन्ने गरेको उनले बताइन् । महिलालाई कार्यालय प्रमुख नस्वीकार्ने अवस्था देखेकी उनलाई अहिले भने मन्त्रालयमा कार्यालय प्रमुख भनेर धेरैले चिन्छन् । 

सुदूरपूर्व र सुदूरपश्चिममा धेरै फरक रहेको उनले बताइन् । पूर्वको तुलनामा सुदूरपश्चिममा एकदमै धेरै लोड महिलामा पर्ने गरेको उनले बताइन् । घरभित्रदेखि बाहिरसम्मको काम महिलाले मात्रै गर्ने गरेको उनी बताउँछिन् । खानपान र स्वास्थ्यमा ध्यान दिन त्यहाँका महिलालाई फुर्सद नै नहुने गरेको उनी सम्झिन्छन् । ‘पुरुषहरू धेरैजसो कामका लागि भारततिर जाने गर्दा रहेछन्,’ उनले भनिन्, ‘आएपछि तास खेल्ने र रमाइलो गरेर दिन बिताउने गर्थे । बारीमा जोत्नेबाहेक सबै काम महिलाले गर्नु पथ्र्यो ।’

हाम्रा बुढीहरूलाई यिनीहरूले उचालेर बिगारे भनेरमसते उनलाई आरोप लाग्ने गरेको थियो । उनी ताप्लेजुङ्गमै हुँदा कार्यालयले महिला तथा पुरुषलाई समविकास तालिम दिने गथ्र्यो । श्रीमान् र श्रीमतीलाई बोलाएर कार्यक्रममा सहभागी गराउने कार्यक्रम थियो । सहभागी बोलाउने जिम्मा त्यहीका स्थानीय कर्मचारीलाई दिएको उनले बताइन् । ‘कर्मचारीले पनि श्रीमतीलाई हिंसा गर्नेका जोडीलाई मात्रै बोलाएछन् । उहाँहरूले त हामीले गरेको व्यवहार  महिला विकासले थाहा पाएछ । हामीलाई थुन्नलाई बोलायो भनेर कार्यक्रममा आउन नै मानेनन् । पछि फेरि बोलाएर अवेअरनेस कार्यक्रम गरेका थियौं,’ उनले भनिन् । 

२०५२ सालमा उनले मावि शिक्षकका लागि शिक्षक सेवाको परीक्षा पनि दिएकी थिइन् । लिखित परीक्षाको नतिजा भने २०५६ सालमा मात्रै आयो । उनले मौखिक परीक्षा पनि दिएकी थिइन् । फाइनल रिजल्ट २०५८ सालतिर मात्रै आयो । उनको पोस्टिङ इलाममा भएको थियो । तर, त्योभन्दा अगाडि उनी अधिकृत भैसकेकी थिइन् । 

शिक्षकमा जागिर खाएको भए हेडमास्टर हुने उनी बताउँछिन् । उनका श्रीमान् किशोर  पनि उपसचिव थिए । उनी अहिले अवकाश भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्