२८ जेठ २०८३, बिहीबार

मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

मंसिर ८, २०८१
चितवन
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा १ जना पक्राउ

मानव बेचबिखनको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाँच जना युवतीलाई वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी भारत पठाउन लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ का ४४ वर्षीय राजु तामाङ भनिने राजकुमार थिङलाई पक्राउ गरेको हो । 

प्रहरीले उनलाई नारायणगढबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रमुख गौतम मिश्रले जानकारी दिए ।

उनका अनुसार विभिन्न स्थानका युवतीहरूलाई नारायणगढमा भेला पारी सुनौली जाने बसमा चढाउन लागेको अवस्थामा थिङलाई पक्राउ गरिएको हो ।

मिश्रले भने, 'थिङले युवतीहरूको पासपोर्ट सङ्कलन गरी भिसा लगाउनका लागि भारत पठाउन लागेका थिए । भारतबाटै विदेश जानुपर्छ भनी युवतीहरूलाई लैजान लागेको सूचना पाएपछि पक्राउ गरिएको हो ।'

मानव बेचबिखनको यो नयाँ स्वरूप भएको उनले बताए ।

मिश्रले भने, 'थिङको नियत खराब भएको थाहा पाएपछि युवतीहरूले आफन्तमार्फत प्रहरीलाई खबर गरेका थिए ।'​

थिङलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत चितवनबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

युवतीहरूको संरक्षणका लागि सुरक्षित गृहमा पठाइएको प्रमुख मिश्रले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्