०७ साउन २०८३, बिहीबार

चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट बिजुली थपियो

मंसिर ८, २०८१
काठमाडौं
चिलिमेका तीनवटै आयोजना सम्पन्न, १६८ मेगावाट बिजुली थपियो

चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

ती जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङ्मो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सवस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।

कूल १४ दशमलव आठ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन र एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । ​

यसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोडको विद्युत् बिक्री गरिसकेको छ । 

यस्तै, ४२ दशमलव पाँच मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन शुरू गरिएको छ । त्यस्तै, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ । 

परीक्षण उत्पादन सफल भएपछि एवं तोकिएको मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन शुरू हुनेछ । दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ । 

नदी प्रवाहमा आधारित ती आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ । चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा दुई सय ७० मेगावाटका चार वटा आयोजना शुरू गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीबाहेक तीन वटा आयोजना सम्पन्न भएका हुन् ।   

salt training

कमेन्ट गर्नुहोस्