०५ साउन २०८३, मंगलबार
डीआईजी बढुवा प्रक्रिया

दरबन्दी थप्ने प्रस्ताव रोकिएपछि अगाडि बढ्यो डीआईजी बढुवा, ‘सिनियारिटी’अनुसार सिफारिश

मंसिर १०, २०८१
काठमाडौं
दरबन्दी थप्ने प्रस्ताव रोकिएपछि अगाडि बढ्यो डीआईजी बढुवा, ‘सिनियारिटी’अनुसार सिफारिश

लामो समयदेखि रोकिएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा प्रक्रिया आइतबारबाट शुरू भएको छ । 

गृहमन्त्री रमेश लेखकको चाहनाअनुसार आफ्नालाई बढुवा गर्न ३ डीआईजीको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयले रोकिएदिएसँगै बढुवा प्रक्रिया अगाडि बढेको हो । 

अर्थ मन्त्रालयले तत्काल दरबन्दी थप्न नसक्ने आशय व्यक्त गरेसँगै गृह मन्त्रालयले आइतबार बेलुका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिश गरेको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भरतपुर तालिम केन्द्रमा डीआईजी राख्नुपर्ने भन्दै गृहमन्त्री लेखकको दबाबमा प्रहरी मुख्यालयले दरबन्दी थपको प्रस्ताव गृहमा पठाएको थियो । गृहले लेखापढी गरेर अर्थमा सहमतिका लागि प्रस्ताव पठायो । तर, अर्थले तत्काल दरबन्दी थप्न नसकिने जवाफ दिएपछि गृहमा बढुवा समितिको बैठक बसेर डीआईजी बढुवा प्रक्रिया शुरू भएको जानकारी गृहकै एक उच्च अधिकृतले लोकान्तरलाई दिए ।

बढुवा सिफारिश सूचीअनुसार तीनजना प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै ब्याची अटाएका छन् । एसएसपी त्रय क्रमशः ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्द आईजीपी कुँवरका ब्याची हुन् ।

बाँकी ५ जना एसएसपीहरू क्रमशः शिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक आर्थिक वर्ष २०५३/०५४ मा इन्सपेक्टरमा भर्ना भएका ब्याची हुन् । 

null

यही ब्याचका एसएसपीहरू ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुणकुमार पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दीलिप सिंह देउवा, विनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीवदास शर्मा र शारदप्रसाद चौधरी बढुवा अकांक्षी थिए ।

खासगरी ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, अरुण कुमार पौडेल र गोविन्द थपलियाले बढुवाका लागि दौडधूप गरेका थिए । शक्तिकेन्द्रमार्फत गृहमन्त्री लेखकलाई दबाब दिएर दरबन्दी थप्ने प्रस्ताव समेत ल्याए पनि अन्तिममा अर्थले स्वीकृति नदिएपछि उनीहरूको दौडधूप रोकिएको एक उच्च प्रहरी अधिकृतले बताए । 

प्रहरी मुख्यालयका एक उच्च अधिकृतले भने, ‘यो बढुवा सिफारिश पारदर्शी छ । आईजीसापले आफ्ना ब्याचीलाई पनि छुटाउनु भएन, बाँकी वरिष्ठताकै आधारमा क्रमशः बढुवा सूची निकाल्न सक्नुभयो ।’

बढुवा प्रक्रिया रोकेर दरबन्दी थपको प्रस्ताव ल्याउन प्रहरी मुख्यालयलाई दबाब दिएको तथ्य बाहिरएसँगै गृहमन्त्री लेखकको आलोचना शुरू भएको थियो । 

अब प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपी बढुवा सूची निकाल्ने तयारी बढुवा समितिको छ । एसएसपी बढुवा सिफारिस पनि सिनियारिटीकै आधारमा गर्ने तयारी समितिको छ । 

हाल नेपाल प्रहरीमा ४ प्राविधिकसहित १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), दुई प्राविधिकसहित १९ जना प्रहरी उपरीक्षक (एसपी), एक जना प्राविधिकसहित ४७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २९ प्राविधिकसहित ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को दरबन्दी खाली छ । 

त्यस्तै, ११ प्राविधिकसहित २८ जना वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई), ३० जना प्राविधिकसहित १०५ जना प्रहरी नायब निरीक्षक सई, ९५ जना प्राविधिकसहित ७२९ जना प्रहरी सहायक निरीक्षक (असई), ३५ जना प्राविधिकसहित १५९ जना वरिष्ठ हवल्दार, १३२ जना प्राविधिकसहित ६५ जना हवल्दार, ९७ जना प्राविधिकसहित १२३ जना सहायक हवल्दार, १०३ जना प्राविधिकसहित २ हजार ५३९ जना जवान र ४३ जना कार्यालय सहयोगीको दरबन्दी खाली रहेको जानकारी प्रहरी केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले दिए ।
 

 

 

salt training

कमेन्ट गर्नुहोस्