०७ साउन २०८३, बिहीबार
ग्रामथान उपचुनाव

दोहोरिने कांग्रेसको दाउ, 'कमब्याक' गर्ने तयारीमा एमाले: माओवादी भन्छ- एक्लै जितेर देखाउँछौं

मंसिर ११, २०८१
विराटनगर
दोहोरिने कांग्रेसको दाउ, 'कमब्याक' गर्ने तयारीमा एमाले: माओवादी भन्छ- एक्लै जितेर देखाउँछौं

कोशी प्रदेशका ९ स्थानमा स्थानीय तहको उपनिर्वाचन हुँदैछ । ९ मध्ये मोरङको ग्रामथान गाउँपालिकालाई दलहरूले बढी महत्त्व दिएका छन् । कोशी प्रदेशमै पालिका अध्यक्षको उपचुनाव हुने एक मात्र पालिका प्रमुख दलहरूको प्रतिष्ठासँग जोडिएको छ । ठूला दलबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको ग्रामथानलाई नेताहरूले जनमत सर्वेक्षणको रूपमा समेत लिएका छन् । 

ग्रामथानमा यसअघि नेपाली कांग्रेसले जितेको थियो । फेरि पनि विजय हासिल गर्नुपर्ने कांग्रेसलाई दबाब छ । जसरी पनि उपचुनाव जित्ने रणनीतिमा कांग्रेस छ । 

नेकपा (एमाले) भने ग्रामथान गाउँपालिकाबाटै मिसन–२०८४ को सन्देश दिने तयारीमा छ । यसैगरी गठबन्धन नगरी एक्लै चुनाव लड्न र जित्न पनि सकिन्छ भन्ने सन्देश दिने नेकपा (माओवादी केन्द्र)को तयारी छ । 

उपनिर्वाचन आफूहरूलाई फलिफाप हुने एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईको दाबी छ । ‘इलाममा–२ को उपनिर्वाचन र बझाङ प्रदेशसभा–१ को उप निर्वाचनसमेत एमालेले जितेको छ,’ उनले भने, ‘उपनिर्वाचन हाम्रा लागि फलिफाप हुन्छ ।’ 

इलाम–२ को प्रतिनिधिसभा उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ प्रदेशसभा १ मा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका थिए । 

null

तर, ग्रामथानको चुनावी परिदृश्य भने फरक छ  । इलामको उप निर्वाचनमा माओवादीले सघाएको थियो । ग्रामथानमा एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । उपनिर्वाचनलाई पार्टीले मिसन–८४ सँग जोडेर प्रचार गरिरहेको राईले बताए ।  

एमालेका केन्द्रीय उपाध्यक्ष गुरुप्रसाद बरालसहित प्रदेश इन्चार्ज राई, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायत नेताहरू घरदैलो अभियानमा लागिरहेका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, पूर्वअर्थमन्त्री महेश आचार्य, केन्द्रीय सदस्यहरू डा. डिला संग्रौला, भीम पराजुली, अमृत अर्याललगायत नेता घरदैलो गरिरहेका छन् । 

ग्रामथान थारू समुदायको बाहुल्यता रहेको पालिका हो । यो क्षेत्रमा कांग्रेस नेता विजयकुमार गच्छदारको प्रभाव पर्ने बताइए पनि उनी अहिलेसम्म फिल्डमा देखिएका छैनन् ।  

कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले कांग्रेसले जित दोहोर्‍याउने दाबी गरिन् । ‘यसअघिको उपनिर्वाचनजस्तो अवस्था अहिले छैन । एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको छ । सरकारले केके कमजोरी गरेको छ भनेर जनताले बुझिसकेका छन्,’ उनले भनिन्, ‘यसअघि कांग्रेसले जितको पालिका हो । फेरि पनि हामी नै जित्छौं ।’ कांग्रेस मिसन–८१ मै रहेको उनले बताइन् ।  

माओवादी केन्द्रले एक्लै चुनाव जित्न सकिन्छ भन्ने सन्देश दिन खोजेको छ । यो चुनाव जितेर माओवादीलाई कसैको वैशाखी चाहिँदैन भन्ने सन्देश दिन खोजेको नेताहरू बताउँछन् । माओवादी उपमहासचिव हरिबोल गजुरेल, केन्द्रीय सदस्यहरू सावित्रीकुमार काफ्ले, अजम्बर काङ्माङ, सांसद अमनलाल मोदीलगायत नेताहरू ग्रामथानमा केन्द्रित भएर चुनावी गतिविधि गरिरहेका छन् । 

जनताले यसपटक एमालेलाई मन पराउने अवस्था नदेखिएको पूर्वमन्त्रीसमेत रहेका अमनलाल मोदीले बताए । मोदीले माओवादी आफ्नै खुट्टामा हिँड्न सक्छ भन्ने सन्देश दिने तयारीमा रहेको बताए । ‘एमाले सरकारमा गएपछि गरेका गलत काम जनताले बुझ्दै छन् । ग्रामथानका जनताले पनि बुझेका छन्,’ उनले भने । गिरीबन्धुदेखि पार्टी कार्यालयको बनाउन जग्गा लिएको प्रकरणले एमालेको जनमत खस्किएको मोदीको दाबी छ । 

ग्रामथानमा २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका शिवनारायण माझी अध्यक्ष निर्वाचित भएका थिए ।  त्योबेला विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अध्यक्षबाहेक उपाध्यक्ष र अधिकांश वडाध्यक्ष पद जितेको थियो । कांग्रेस तेस्रो स्थानमा रहेको थियो भने माओवादी केन्द्र १८ सय मतसहित चौथो स्थानमा थियो । 

मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र कांग्रेससबीच एकता भएपछि २०७९ निर्वाचनमा ग्रामथानमा कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार निर्वाचित भएका थिए ।  गच्छदारले ७ हजार ६०५ मत  प्राप्त गरेका थिए ।  निकटतम प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत प्राप्त गरेका थिए ।  माओवादी केन्द्रका उम्मेदवार विजयकुमार सरदारले २ हजार ७२७ मत प्राप्त गरेका थिए । गत असारमा जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपचुनाव हुन लागेको हो । 

उपनिर्वाचनका लागि विभिन्न १५ वटा राजनीतिक दल र एक स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख तीन राजनीतिक दलकै उम्मेदवारहरू कांग्रेस पृष्ठभूमिका छन् । कांग्रेसका बलराम सरदार कांग्रेसका पुराना नेता हुन् । एमालेका तुलसीराम विश्वास २०७९ सालको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसबाट प्रवेश गरेका थिए ।

यस्तै, माओवादी केन्द्रबाट ग्रामथान १ का पूर्ववडाध्यक्ष नमोनारायण माझी तीन महिनाअघि कांग्रेस परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एमालेले टिकट नदिएपछि ​नमनारायण चौधरीले बागी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्