
सुनसरीस्थित कोशी गाउँपालिका–१ लौकही बजारमा किराना पसलमा नक्कली नोट लिएर सामान खरिद गर्न पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव छन् ।
उनीहरूले किराना पसलमा सामान खरिद गरेर एक हजारको दुई वटा नोट दिएका थिए ।
पसलेले शंका लागेर प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्दा उक्त नोट नक्कली रहेको पुष्टि भएको थियो ।
त्यसलगत्तै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको खल्तीबाट हजार दरको थप दुई वटा नक्कली नोट बरामद भएको थियो ।
इलाका प्रहरी कार्यालय लौहकीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।