
काठमाडौं २५ कार्तिक — महिला, बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाले नेपाललाई सनतान हिन्दु राष्ट्र कायम गर्नको लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जनताले मत दिनुपर्ने बताएका छन् ।
शनिबार विश्व हिन्दु यूवा संघ अन्तराष्ट्रिय समितिले आयोजना गरेको स्रष्टा सम्मान तथा गोष्ठीमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन । थापाले काँग्रेससँग केही फरक मत हुँदाहुँदै पनि नेपाललाई हिन्दुराष्ट्र कायम राख्न काँग्रेसले मात्रै सक्ने बताउँदै आफूहरुले कांग्रेको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठन गरेको स्पष्ट पारे ।
उनले भने,‘संविधान जारी भएको दिनमा नेपाललाई हिन्दुराष्ट्रविहिन बनाईयो, आन्दोलनका क्रममा धर्मनिरपेक्षता र संघीयताको विषय कतै थिएन तर एकाएक कसरी यो सम्भव भयो ? हाम्रो पार्टी यसैको निम्ति लडिरहेको छ, फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्, हामी कुनैपनि हालतमा हिन्दुराष्ट्र कायम गरेर छोड्नेछाँै, धर्मनिरपेक्षता होईन, धार्मिक स्वतन्त्रता हुनुपर्छ।’
त्यस्तै महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री कान्ता भट्टराईले हिन्दु पनि राज्यको पक्षधरलाई आगामी निर्वाचनमा भोट दिनको लागि आग्रह गरिन्।