२८ जेठ २०८३, बिहीबार
मध्यपूर्व तनाव घट्ने संकेत

१३ महिनादेखि जारी इजरायल-हिजबुल्लाह युद्ध तत्काललाई रोकिने, युद्धविराम कति प्रभावकारी होला ?

मंसिर १२, २०८१
काठमाडौं
१३ महिनादेखि जारी इजरायल-हिजबुल्लाह युद्ध तत्काललाई रोकिने, युद्धविराम कति प्रभावकारी होला ?
तस्वीर : एएफपी

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौताको घोषणा गरेका छन् । यससँगै इजरायल र हिजबुल्लाहबीच विगत १३ महिनादेखि चलिरहेको युद्ध तत्काललाई रोकिने भएको छ ।

अमेरिका र फ्रान्सको संयुक्त विज्ञप्तिमा भनिएको छ कि 'सम्झौताले लेबनानमा चलिरहेको युद्धलाई रोक्नेछ र 'इजरायलमा हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूद्वारा आक्रमणको खतरा' लाई टाल्नेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो सम्झौतालाई स्थायी युद्धविरामको रूपमा ल्याइएको बताएका छन् । युद्धविरामको शर्तअनुसार हिजबुल्लाहले ६० दिनभित्र ब्लू लाइनबाट आफ्ना लडाकु र हतियार फिर्ता लिनेछ । ब्लू लाइन लेबनान र इजरायल बीचको अनौपचारिक सीमा हो ।

सम्झौताका सर्तहरू अनुसार हिजबुल्लाह लडाकुहरूलाई यी क्षेत्रहरूमा लेबनानी सैनिकहरूले प्रतिस्थापन गर्नेछन् । लेबनानी सेनाहरूले यी क्षेत्रहरूबाट हिजबुल्लाहका पूर्वाधार र हतियारहरू हटाउने र उनीहरूलाई पुनर्स्थापना गर्न अनुमति नदिने कुरा सुनिश्चित गर्नेछन् ।

६० दिनमा इजरायलले विस्तारै आफ्ना सैनिक र सर्वसाधारणलाई फिर्ता गर्नेछ । अमेरिकी राष्ट्रपतिले दुवै पक्षले सीमावर्ती क्षेत्रमा रहेका सर्वसाधारणलाई आफ्नो घर फर्कन सुनिश्चित गर्ने बताए ।

अमेरिकी अधिकारीका अनुसार लेबनानी सेनाले दक्षिणमा पाँच हजार सैनिक तैनाथ गर्ने छ । तर, युद्धविराम कार्यान्वयनमा उनीहरूले के भूमिका खेल्ने भन्ने प्रश्न भने अझै बाँकी नै छ । 

लेबनानका जनता धार्मिक समूहमा विभाजित छन् र उनीहरू आपसमा अलमलमा पर्न सक्ने गहिरो डर छ ।

लेबनानी सेनाले आफूसँग स्रोतसाधन नभएको बताएको छ । यस्तो अवस्थामा यो सम्झौताका सर्तहरू पूरा गर्न सहज छैन ।

तर, लेबनानका विश्वव्यापी सहयोगीहरूले आर्थिक सहयोग गर्न सक्ने बताएका छन् । पश्चिमी देशका धेरै अधिकारीहरूले हिजबुल्लाह अहिले कमजोर भएको र लेबनानी सरकारका लागि आफ्नो क्षेत्रलाई नियन्त्रण गर्ने अवसर भएको बताएका छन् ।

यो सम्झौता लगभग संयुक्त राष्ट्र सुरक्षा परिषद्‌को प्रस्तावजस्तै छ, जसले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीचको युद्ध समाप्त गरेको थियो । 

यस क्षेत्रमा कुनै अमेरिकी सेना हुनेछैनन् तर, लेबनानी सेनालाई मद्दत गर्न सैन्य सहयोग हुने बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार विगतमा पनि यस्तो गरिँदै आएको छ । फ्रान्सले लेबनानी सेनालाई पनि सहयोग गर्नेछ ।

हिजबुल्लाहलाई दक्षिणी लेबनानमा कुनै पनि प्रकारको भवन निर्माण गर्न नदिइने बाइडेनले बताए । 

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाको सोच अनुसार लेबनानमा सैन्य कारबाहीको पूर्ण स्वतन्त्रता कायम राख्न जारी राख्ने बताए। 'यदि हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरी हतियार उठायो भने हामी आक्रमण गर्नेछौं,' उनले भने, 'यदि सीमा नजिकै आतंकवादी पूर्वाधार पुनर्निर्माण गरियो भने हामी आक्रमण गर्नेछौं । यदि रकेट प्रक्षेपण गरियो, सुरुङ बनाइयो र रकेटहरू ट्रकमा ल्याइयो भने, हामी आक्रमण गर्नेछौं।'

बाइडेनले नेतान्याहुलाई समर्थन गर्दै भनेका छन्, 'यदि हिजबुल्लाह वा कसैले सम्झौताको उल्लङ्घन गर्छ र इजरायललाई खतरा उत्पन्न गर्छ भने उसलाई अन्तर्राष्ट्रिय नियम अनुसार आत्मरक्षाको अधिकार हुनेछ ।'

तर, बाइडेनले यो सम्झौताले लेबनानको सार्वभौमसत्ता जोगाउने पनि बताएका छन् । 

लेबनान र इजरायलबीच युद्धविराम हुनुभन्दा केही घण्टाअघि मंगलबार हिजबुल्लाह र इजरायलले एकअर्कामाथि आक्रमण गरेका थिए । 

हिजबुल्लाहले मंगलबार राति तेल अवीवका केही संवेदनशील सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले यसको पुष्टि गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेका छन् ।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन ग्वीरले भने नेतान्याहुको युद्धविरामको निर्णयलाई गलत कदम भनेका छन् । यदि युद्धविराम भयो हिजबुल्लाहलाई समाप्त पार्ने अवसर गुमाउने उनको भनाइ छ । ग्विरले लामो समयदेखि हिजबुल्लाहसँगको युद्धविरामको विरोध गर्दै आएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्