०८ साउन २०८३, शुक्रबार
स्थानीय तह उपनिर्वाचन

ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएको कीर्तिपुरमा स्वतन्त्रको चुनौती

मंसिर १२, २०८१
काठमाडौं
ठूला दल एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएको कीर्तिपुरमा स्वतन्त्रको चुनौती

मंसिर १६ हुन लागेको उपनिर्वाचनमा काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)मा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका पुराना दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएको छ । 

स्थानीय तह चुनावको मध्यावधि शक्ति परीक्षणका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अलग–अलग उम्मेदवार उठाएका छन् । 

अर्थात्, ठूला दल तालमेल नगरी एक्लै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । तर, पुराना दलको प्रभाव रहेको ठाउँमा चुनौती दिन स्वतन्त्र उम्मेदवार अगाडि सरेका छन् । 

२०७९ सालमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए । एमालेका केशरत्न बज्राचार्यले ५५०७ ल्याएका थिए । 

नकर्मीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार डंगोल ऐतिहासिक शहर कीर्तिपुरलाई शिक्षा, खेलकुद र हरित पर्यावरणीय शहरको रूपमा विकास गर्ने बताउँछन् । 

null

‘कीर्तिपुर धार्मिक, सांस्कृतिक, ऐतिहासिक नगरी हो । यसलाई अझै हरित पर्यावरणीय नगरको रूपमा विकास गर्ने मेरो अठोट छ,’ डंगोलले भने, ‘मैले जित्दा कीर्तिपुरलाई शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र पर्यटनको समुन्नत शहरको रूपमा विकास गर्छु ।’ 

काठमाडौंनजिक भए पनि उपयुक्त स्वास्थ्य संस्था नभएको भन्दै डंगोलले कम्तीमा पनि १५ देखि २० शय्याको अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेका छन् । 

एमालेले संवैधानिक कानूनमा पिएचडी गरेका डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवारमा उठाएको छ । मानन्धर २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं– १० बाट उठेर पराजित भएका थिए । कांग्रेसका राजेन्द्र केसी विजयी हुँदा मानन्धर दोस्रो भएका थिए । २०६४ मा जिते पनि माओवादी अध्यक्ष प्रचण्ड ०७० मा मानन्धरभन्दा पनि पछाडि परेका थिए । विद्यार्थीकालदेखि नै राजनीति गरेका मानन्धर एमालेका केन्द्रीय कमिटी सदस्य हुन् । 

null

परम्परागत विरासत बोकेको कीर्तिपुरलाई थप परिचित हुने गरी बस्नयोग्य शहर बनाउने उनी बताउँछन् । ‘म यही जन्मे‌ं, यही हुर्कें, यही समाजका लागि कर्म  गर्दै राजनीतिमा समर्पित रहें,’ मानन्धर भन्छन्, ‘संस्कृति र परम्परामा धनी कीर्तिपुरलाई अझै व्यवस्थित र अझै धेरै मान्छे बस्न मिल्ने शहर बनाउने मेरो अठोट छ ।’

आफूले जिते कीर्तिपुरलाई सद्भाव, एकता र पारस्परिक सहयोगको नमूनाका रूपमा विकास गर्ने उनले बताए । गत चुनावमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन ४०९० मत ल्याएर तेस्रो भएका थिए । यो दोस्रो मत पाएको एमालेको भन्दा १४१७ मत कम हो । दुई ठूला दललाई चुनौती दिने मत ल्याएका उनै महर्जनलाई माओवादीले अगाडि सारेको हो । राम्रो मत रहेको र उम्मेदवार पनि प्रभावशाली रहेको भन्दै माओवादी उत्साही देखिन्छ । 

२०६४ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको क्षेत्र समेत रहेको कीर्तिपुरमा माओवादीले पनि आफ्नो उम्मेदवारी बलियो भएको जनाएको छ । महर्जन लामो समय त्रिविमा प्राध्यापन गरेका प्राध्यापक डाक्टर हुन् । कीर्तिपुरमा उनको छवि बौद्धिक, शिक्षाविद् र शालीन व्यक्तित्वका रूपमा छ ।

null

माओवादी उम्मेदवार महर्जनले नागरिकसँग जोडिएका लोकप्रिय नारा अगाडि सारेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता विषयमा काम गर्ने उनको भनाइ छ ।

‘म मेयरमा मेयरमा निर्वाचित भए नागरिकलाई निःशुल्क बिजुली दिने, फोहोर उठाउने, स्वास्थ्य उपचारको लागि सहज हुने गरी शिक्षण अस्पतालकै एउटा डिपार्ट यहाँ ल्याउन प्रयत्न गर्छु,’ महर्जनले चुनावी अभियानमा भन्दै आएका छन् । 

कीर्तिपुरको मेयरमा माधव नेपालको नेकपा एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले उम्मेदवारी दिएका थिए । तर, उम्मेदवारी निष्क्रिय गराउँदै रिजालले माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई सघाउने भएका छन् । उम्मेदवारी दिनुअघि नै माओवादीलाई सघाउने भनिए पनि उम्मेदवारी फिर्ता लिएका थिएनन् । 

उम्मेदवारको अन्तिम सूची सार्वजनिक भएको केही दिनपछाडि मात्रै समाजवादीले माओवादीलाई सघाउने गरी उम्मेदवारी निष्क्रिय गराएको हो । अशोक राई नेतृत्वको जसपाले पनि माओवादीलाई कीर्तिपुरमा सहयोग गरेको छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका बटुकृष्ण थापाको ११५३ मत आएको थियो । 

परम्परागत दललाई स्वतन्त्रको चुनौती

परम्परागत दल छुट्टाछुट्टै प्रतिस्पर्धा उत्रिँदा कीर्तिपुरमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले चुनौती दिने देखिएको छ । सफाइ अभियानकर्मी महर्जनलाई केही साना दल र स्वतन्त्रको साथ छ । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेर धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्क साम्पाङले कीर्तिपुर पुगेरै राजमानलाई भोट मागेका छन् । 

null

यतिमात्रै होइन, आफैं उम्मेदवार अगाडि सार्न हच्किएको रास्वपाले पनि राजमानलाई समर्थन गर्ने संकेत गरिसकेको छ । तर, अहिलेसम्म घोषणा गरिसकेको छैन । परम्परागत दललाई चुनौती दिन रास्वपाले पनि राजमानलाई समर्थन गर्ने संकेत गरिसकेको छ । यसैले कीर्तिपुरको मेयरमा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका पुराना दलविरुद्ध स्वतन्त्रको प्रतिस्पर्धाजस्तो देखिएको हो । 

स्वतन्त्रमध्येबाट यसपटक राजमान सबैभन्दा चर्चित छन् ।  कुनै समय उनी एमालेनिकट थिए । तर, पछिल्लो समय सफाइ अभियन्ताका रूपमा उनी चर्चित छन् । स्वतन्त्र उम्मेदवार र केही सेलिब्रिटी मेयरको साथ पाएकाले उनले परम्परागत दललाई चुनौती दिने ठानिएको छ । २०७९ मा काठमाडौंमा बालेन, धरानमा हर्क साम्पाङ र बाँकेमा गोपी हमालले दिएकैजस्तो चुनौती दिने तयारीमा राजमान छन् । 

null

परम्परागत दलले राजनीतिक प्रणालीलाई सुधारेर नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकेको उनी बताउँछन् । 

‘वर्षौदेखि परम्परागत दलले शासन गरे, तर प्रणाली केही फेरिए पनि जनताको जीवनस्तर फेरिने र परिवर्तन हुने स्थिति बन्नै सकेन,’ महर्जनले चुनावी सभामा भनेका छन्, ‘काठमाडौंबाट यति नजिक भएर पनि अझै राम्रा बाटो बनाउने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने, स्वास्थ्य, शिक्षा, फोहोर व्यवस्थापनजस्ता मसिना काममा पनि प्रभावकारी काम गर्न सकेका छैनन् । यिनलाई सुधार्ने प्रतिबद्धतासहित म मेयरमा उठेको हुँ ।’

आफू १०–१२ वर्षयता निरन्तर सामाजिक कार्यमा समर्पित रहँदै आएकाले यसपटकको चुनाव जित्ने दाबी उनको छ ।

को–को छन् कीर्तिपुरमा उम्मेदवार ? 

दलगत उम्मेदवार – ८

एमाले – डा. सुरेन्द्र मानन्धर 

कांग्रेस – कृष्णमान डंगोल 

माओवादी – प्रा.डा. शिवशरण महर्जन 

जसपा नेपाल तेस्रोलिंगी (यौनिक अल्पसंख्यक) दीपक महर्जन (हनी)

राप्रपा – ध्रुव महर्जन 

जनमत – केशव श्रेष्ठ 

नेपाल समाजवादी पार्टी – दिलकुमार महर्जन

नेमकिपा – श्रीकृष्ण महर्जन

स्वतन्त्र – ११  

राजमान महर्जन, दिनेशकुमार अधिकारी, नवरथकुमार बानियाँ, आनन्द महर्जन, कविकुमार महर्जन, रामकृष्ण महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, मीम महर्जन, प्रेमबहादुर महर्जन र धर्मरत्न मानन्धर

salt training

कमेन्ट गर्नुहोस्