अनलाइन जुवा खेलाउने काममा संलग्न रहेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो ।
उनले हालसम्म ७५ वटा बैंक खाता, १२८ वटा इसेवा वालेट, बिनेन्स आईडी प्रयोग गरी ५५ करोड २० लाख ८४ हजार ७१ रूपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।
बेटिङ एप्लिकेसनमार्फत् विश्वभर सञ्चलान हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत जुवा (सट्टेबाजी) गर्ने / गराउने गरी रकम संकलन गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने लगायतका गैरकानूनी काम भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

राईको साथबाट विभिन्न कम्पनीका ल्यापटप २ थान, विभिन्न मोडलका मोबाइल ८ थान, एनसेल कम्पनीका सिम ७० थान, नेपाल टेलिकमका सिम ५ थान र वाइफाई राउटर २ थान बरामद भएको एसपी काजी कुमार आचार्यले जानकारी दिए ।
यसैगरी, विभिन्न व्यक्तिहरूको नाममा रहेका नागरिकता प्रमाणपत्र ११ थान, राहदानी १५ थान, बैंक खाताका चेकबुक २२ थान, एटीएम ४२ थान र मोटरसाइकल एक थान प्रहरीले बरामद गरेको छ । राईमाथि आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर , ललितपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
