
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घले आज आयोजना गरेको चौथो विश्व शान्ति पूजा कार्यक्रममा उनले बौद्धमार्गीका कारण विश्वमा शान्ति फैलाउन योगदान पुगेको बताएका हुन् ।
पर्यटनमन्त्री पाण्डेले ज्ञानबाट धनतिर जान लागेको समाजलाई बुद्धमार्गकै माध्यमबाट शान्ति फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । नेपाल शान्तिको मुहान भएको र विश्वका हरेक मानव एकपटक नेपाल आउनुपर्ने बताउँदै उनले एकपटक आएकाले पटकपटक आउने वातावरण बनाउनु आवश्यक रहेकामा जोड दिए ।
“बुद्धको सन्देश संसारभर फैलियो । यो विश्व शान्ति पूजाको आयोजना गर्दैगर्दा मानवको मानसिक शान्ति र जलवायु परिवर्तनको जोखिमबाट बचाउन पृथ्वीमा शान्ति खोजिरहेका छौँ”, पर्यटनमन्त्री पाण्डेले भने, “बुद्धको शिक्षा र मार्गदर्शनलाई आत्मसात् गर्दै विश्वशान्ति र भ्रातृत्व कायम गर्न सबै लाग्नुपर्ने आवश्यकता छ ।”
पूर्वपर्यटनराज्यमन्त्री याङ्किला शेर्पाले विश्वशान्तिको कामनासहित आपसी भाइचारा अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको बताइन् ।