२६ असार २०८३, शुक्रबार

पशुपति क्षेत्रमा तीन दिनसम्म माछामासु, मदिरा र नशालु पदार्थ निषेध

मंसिर १४, २०८१
काठमाडौं
पशुपति क्षेत्रमा तीन दिनसम्म माछामासु, मदिरा र नशालु पदार्थ निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुर्दशी पर्वको सुरक्षालाई ध्यानमा राखेर हिजोदेखि तीन दिन पशुपति क्षेत्रमा माछामासु मदिरा, नशालु पदार्थको उत्पादन, बिक्री तथा सेवनमा निषेध गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व), २०८१ लाई मध्यनजर गर्दै यही मङ्सिर १३ देखि १५ गतेसम्मका लागि माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी निषेध गरिएको जानकारी दिए ।

कसैले निषेध गरिएको गतिविधि गरेको पाइएमा कारबाही गर्ने काठमाडौं प्रशासनले चेतावनी दिएको छ । काठमाडौं प्रशासनले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बालाचतुर्दशी पर्वको सुरक्षाका लागि पशुपतिनाथ विराजित पावन पाशुपत क्षेत्रभित्र सुरक्षालगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राखे उद्देश्यले देहायका चार किल्लाभित्र कसैले पनि मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानुनबमोजिम कारबाही भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।'

काठमाडौं प्रशासनका अनुसार गौशाला, मित्रपार्क सडकदेखि पूर्वपशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्येश्वरीबाट दक्षिणलगायत पशुपति क्षेत्रको सबै भू–भागमा माछामासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न नपाउने जानकारी गराइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्