
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि थाइल्याण्डका राजदूत सवापोङ्ग सिरिसोर्नले आज शिष्टाचार भेट गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्य, पर्यटन र व्यापार क्षेत्रमा लगानीलगायत समसामयिक विषयमा विचारविमर्श भएको थियो ।
त्यसक्रममा उपराष्ट्रपति यादवले नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै सुमधुर सम्बन्ध रहँदै आएको उल्लेख गर्दै दुवै मुलुक साझा संस्कृति र धर्मले बाँधिएको बताएका उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
'बुद्ध धर्मले दुई देश र जनताबीच मित्रता र सहयोगको बलियो बन्धन बनाएको छ,' उनले भने, 'विभिन्न क्षेत्रीय र अन्तर्राष्ट्रिय फोरमहरूमा दुई देशबीच घनिष्ठ सहयोग र समान विचारहरु रहेकाप्रति खुशी व्यक्त गर्दछु ।'
उपराष्ट्रपति यादवले सांस्कृतिक आदानप्रदान, पर्यटन र खेलकुद, कृषि र पशुपालन विकास, विश्वविद्यालय, व्यवसायी समुदायबीचको सहकार्यसम्बन्धी विभिन्न द्विपक्षीय सम्झौतामा मार्च २०२५ मा हुने ‘बिमस्टेक’ शिखर सम्मेलनका क्रममा हस्ताक्षर गर्ने प्रस्ताव गरिएको बताए ।
'यसले हामीलाई नयाँ क्षेत्रहरूमा सहकार्य गर्ने थप अवसर प्राप्त हुनेछ,' उनले भने, 'नेपालमा ऊर्जा, पूर्वाधार, उत्पादन, स्वास्थ्य, आईसीटी र कृषिलगायत क्षेत्रमा सहकार्य आवश्यक छ ।'