
देशका विभिन्न स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज, आइतबार उपनिर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहान ७ बजेदेखि शुरू हुने मतदानमा लुम्बिनी प्रदेशका ५ पदका लागि उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा एक गाउँपालिका उपाध्यक्ष र चार वडाध्यक्ष चयनका लागि मतदान हुनेछ ।
रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपप्रमुख, रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ४, गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ र बर्दियाको ठाकुरद्वारा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
एमाले–कांग्रेसको सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका एमाले उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती यसअघि निर्विरोध निर्वाचित भइसकेका छन् ।