
निर्वाचन आयोगले आइतबार भएको स्थानीय तहको उपनिर्वाचनमा ६२ प्रतिशत मत खसेको जनाएको छ । आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार ६२ प्रतिशत मत खसेको हो ।
‘हामीसँग ६२ प्रतिशत मत खसेको अपडेट आएको छ । यसमा थोरै बढ्न सक्छ । तर प्रतिशत नै घटबड हुने स्थिति देखिएको छैन,’ चालिसेले लोकान्तरसँग भने, ‘यो विगतको उपनिर्वाचनभन्दा बढी मत प्रतिशत हो ।’ अब दुर्गम ठाउँका केही वडा र पालिकाको अपडेट भएपछि यकिन विवरण आउने उनले जानकारी दिए ।
आयोगले ६० प्रतिशत मत खस्ने अनुमान गरे पनि दुई प्रतिशत बढेको उनी बताउँछन् ।
सहायक प्रवक्ता चालिसेका अनुसार निर्वाचन शान्तिपूर्ण भएको छ ।
अब कीर्तिपुर नगरपालिकाको मेयरमा मत पेटिका संलकपनपछि आजै मतगणना हुने जानकारी उनले दिए ।
‘कीर्तिपुरमा मतपेटिका संकलन गर्न गाह्रो छैन,’ उनले भने, ‘यसैले आजै रातिबाट कीर्तिपुर प्रमुखको मतगणना गर्ने तयारी छ । अन्य वडाहरूको मतगणना पनि आजैबाटै शुरू हुन्छ ।’
मोरङको ग्रामथान र दैलेखेको महाबु गाउँपालिकाको अध्यक्षको लागि भोलिमात्रै मतगणना हुन सक्ने जानकारी उनले दिए ।
आइतबार देशभरका रिक्त ४१ विभिन्न पदका लागि निर्वाचन भएको हो ।