![जनकपुर बोल्ट्सद्वारा कर्णाली याक्स ८ विकेटले पराजित [भिडिओसहित]](https://lktcdn2.prixacdn.net/media/462578971_1274906230596274_8105855278753418048_n_SzdvMe0pCA.png)
जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ ।
जारी नेपाल प्रिमियर लिगमा जनकपुरको यो लगातार दोस्रो जीत हो ।
त्रिवि क्रिकेट मैदानमा १४२ रनको लक्ष्य पाएको जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा सहज जीत हात पारेको हो । जीतका लागि कप्तान अनिल शाहले कप्तानी इनिङस खेल्दै अर्धशतक बनाएका थिए ।
साह ४२ बलमा ६२ रन बनाएर अविजित रहे । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यसैगरी अर्का प्रारम्भिक बल्लेबाज आसिफ शेखले पनि राम्रो शुरूआत दिएका थिए ।
२ चौका र २ छक्कासहित शेखले २९ बलमा ३६ रन बनाएका थिए । कर्णाली याक्सका लेग स्पिनर मौसम ढकालको बलमा छक्का प्रहार गर्न खोज्दा देव खनालको हातमा उनले क्याच थमाएका थिए ।
पहिलो विकेटका लागि कप्तान साह र शेखबीच ८४ रनको साझेदारी भएको थियो । त्यसैगरी जनकपुरको पछिल्लो खेलका प्लेयर अफ द म्याच रहेका लहिरु मिलान्थाले पनि आक्रामक शैलीमा खेलेका थिए ।
उनले पनि २ चौका र २ छक्काको सहयोगले १३ बलमा १८४ को स्ट्राइक रेटले २४ रन बनाएका थिए । जीसन मक्सूदले उनलाई एलबीडव्लयू गरेर पेवेलियन फर्काएका थिए ।
त्यसैगरी जनकपुरका लागि जेम्स निसमले पनि ८ बलमा २ चौका र १ छक्कासहित १६ रन बनाएर नटआउट रहे ।
यस अघि कर्णाली याक्सले टस जितेर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाउन सकेको थियो । अन्तिम दुई ओभरको खेलमा याक्सका कप्तान सोमपाल कामी र अर्जुन घर्तीबीच भएको ५६ रनको साझेदारीका बाहेक कर्णालीले सम्मानजनक स्कोर बनाउन सकेन ।
जनकपुरको घातक बलिङसामु कर्णाली निरीह बनेका थिए । ओपनर देव खनाल दोस्रो ओभरमै १ रन बनाएर आउट भएका थिए । ५ बलमा १ रन मात्र जोडेका खनाललाई जनकपुरका स्पिनर ललित राजवंशीले बोल्ड गरेका थिए ।
अर्का ओपनर भारतको स्टार क्रिकेटर शिखर धवन भने गब्बरबाला पारी खेल्न सकेनन् । भारतीय टिमकै लागि लामो समय सम्म ओपनर ब्याट्सम्यानको भूमिका निर्वाह गरेका धवनले १४ बलमा १४ रन मात्र बनाउन सके । उनलाई हर्ष ठाकेरले बोल्ड गरेका थिए ।
त्यसपछि चाडविक वाल्टनले १४ रन, बाबर हायातले १२ रन, गुलसन झाले २७ बलमा ३६ रन, अर्जुन घर्तीले २२ बलमा ३३ रन बनाएका थिए । जीसन मसूदले खाता नै खोल्न सकेनन् भने कप्तान सोमपाल कामी १३ बलमा २९ रन बनाएर नट आउट रहे । त्यसैगरी नन्दन यादवले भने एक बल पनि खेल्न नसकी नट आउट भएर फर्किएका थिए ।
जनकपुरका लागि मोहम्मद मोसिनले २ विकेट तथा किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान १/१ विकेट लिएका थिए ।
जनकपुरको जीतमा नटआउट रहेका कप्तान साह प्लेयर अफ द म्याच बने ।