![एक्लै लडेको माओवादी दोस्रो हुँदा एमालेले थप्यो तीन पदाधिकारी, कांग्रेसलाई धक्का [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Prachanda_Oli_Deuba_Election_Sketch_Lokantar_hbq6vaRW5f.png)
स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षको मतगणना सम्पन्न भएसँगै सोमबार राति अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।
३ पदमा उम्मेदवारहरू सर्वसम्मत भएका थिए । जसमा दुई जना जिल्ला समन्वय समितिका प्रमुख रहेका छन् भने एक जना वडाध्यक्ष रहेका छन् ।
निर्वाचन आयोगका अनुसार कुल ४४ पदमध्ये नेपाली कांग्रेस १९, नेकपा (माओवादी केन्द्र) ११, नेकपा (एमाले) ८, जसपा २ तथा नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १/१ पदमा निर्वाचित भएका छन् ।
उपनिर्वाचन भएका पालिका प्रमुख र उपप्रमुखका ८ पदमध्ये २०७९ को निर्वाचनमा कांग्रेसले ६ र माओवादीले २ स्थानमा जितेका थिए। अन्तिम मतपरिणामअनुसार माओवादीले २ पदाधिकारी र एमालेले ३ पदाधिकारी थपेका छन्। कांग्रेसले यसअघि जितेका ६ मध्ये काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखको पद मात्र सुरक्षित राख्न सकेको छ।
कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षगरी तीन नयाँ पदाधिकारी एमालेले लगेको छ । माओवादीले रुकुमको पुथा उत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष जोगाएको छ भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद थपेको छ । यी दुवै ठाउँ यसअघि कांग्रेसले जितेको थियो ।
त्यस्तै, उपनिर्वाचन भएका ३४ वडाध्यक्षमध्ये २०७९ को निर्वाचन कांग्रेसले १९, एमालेले ८, माओवादीले ६, जसपा नेपालले १ पद जितेका थिए। यस पटक कांग्रेसले ३ वडा गुमाएर १६ र एमालेले ३ वडा गुमाएर ५ मात्र जितेका छन् । माओवादीले भने १ थपगरी ७ वटा वडामा जितेको छ भने जसपा नेपालले १ थपेर २ वडामा जितेको छ । स्थानीय तहमा रास्वपाले एउटा वडासहित पहिलो पटक उपस्थिति जनाएको छ ।
कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल पाँच हजार तीन सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत प्राप्त गरे। यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सुरेन्द्र मानन्धरले चार हजार तीन सय २७ र स्वतन्त्र उम्मेदवार राजमान महर्जनले दुई हजार ३६ मत प्राप्त गरे ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा एमालेका उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा विजयी भइन् । उनले दुई हजार आठ सय पाँच मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले दुई हजार छ सय मत प्राप्त गरिन् ।
यस्तै, कांग्रेसका उम्मेदवार पासदिकी तामाङले एक हजार सात सय २७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनकुमारी श्रेष्ठले एक सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा श्रेष्ठले एक सय, एकीकृत समाजवादीका रविना खड्काले ९० मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमिल्सिना विजयी भइन् । कांग्रेसका उम्मेदवार सविता बुढालाई पछि पार्दै माओवादीका तिमिल्सिना ४३ मत अन्तरले विजयी भइन् । सर्केगाडमा छ हजार आठ सय १० मतदाता रहेकामध्ये चार हजार पाँच सय २४ मत खसेको थियो । तिमल्सिनाले एक हजार छ सय ३७ मत ल्याएर विजय हासिल गरिन् ।
उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सविता बुढाले एक हजार पाँच सय ९४, नेकपा एमालेकी जाना शाहीले एक हजार एक सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सङ्गीता शाहीले ५१, राष्ट्रिय स्वतन्त्र पार्टीकी बाँचा बुढाले २५ र स्वतन्त्र उम्मेदवार नरेश शाहीले नौ मत प्राप्त गरिन् ।
आयोगका अनुसार उदयपुरको बेलका नगरपालिका–९ को वडाध्यक्षमा माओवादी केन्द्रका भरत घिमिरे पाँच सय ५९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी मोहन खड्काले पाँच सय २५, नेपाली कांग्रेसका नवराज बस्नेतले चार सय चार, जनता समाजवादी पार्टीका राजकुमार राईले दुई सय सात, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्माले एक सय २३ मत प्राप्त गरे ।
ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समितिको प्रमुख र रुकुमपूर्वको पुथा उत्तरगङ्गा–२ को वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए ।
कहाँ को निर्वाचित ?
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत प्राप्त गरे ।
दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत ल्याए ।
जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भइन् । उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका इन्द्रा चन्द (सिंह) ले तीन सय एक सय ४७ मत प्राप्त गरिन् ।
रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भइन् । उनको प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनका उम्मेदवार केशकुमारी तुलाचनले दुई हजार एक सय २८ मत मात्रै पाइन् ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भइन् । उनले एक हजार सात सय ४० मत ल्याउँदा कांग्रेसका पुल्तीसरा शाहीले एक हजार चार सय ७४ मत पाए ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्बी साउदेनले दुई सय ५१ मत प्राप्त गरे । झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाए ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी भए । सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी भए ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी भए । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भए । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी भए ।
धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी भए । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित भए ।
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी भए ।
गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित भए ।
रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी भए । नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भए ।
काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी भइन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भए ।
गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित भए ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी भए ।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी भए ।
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारू एक हजार ४३ मत ल्याएर विजयी भए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित भए ।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी भए । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी भए ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी भए ।
रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित भए ।
बझाङको सुर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी भए । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भए ।
दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी भए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए ।