
नेपाल प्रिमियर लिग (एनपीएल)मा आज (मंगलबार) दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्ने छन् ।
यी दुई टिमबीचको खेल बिहान ९:१५ बजेदेखि शुरू हुनेछ । खेलमा विराटनगर सन्दीप लामिछाने र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ ।
सुदूरपश्चिको यो पहिलो खेल हो भने विराटनगरको दोस्रो खेल खेल्दै छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ ।
प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो । पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । खेलमा चितवन कुशल मल्ल र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ ।