
उनीसँगैका साथीहरू चुंगी खेल्थे । उफ्रिन्थे । दौडिन्थे । तर, कास्कीको पोखरा महानगरपालिका-१९ लामाचौरमा जन्मिएकी अञ्जना केसी साथीहरू खेलेको हेर्न विवश थिइन् । उनी साथीहरूसँगै चुंगी र डोरी खेल्न सक्दिनथिन् । उफ्रिन न दौडिन सक्थिन् ।
साथीसंगीसँग खेल्न नपाएपनि उनलाई साथी बनाउन खुब मन पर्थ्यो । हिँड्न नसकेपनि उनी बोल्नमा तगडा थिइन् । एकदम बाठी पनि । उनको छरितोपन देखेर आमाले विद्यालय पठाउने निर्णय गरिन् ।
आमाले बोकेर स्कुल पुर्याउने गरेकी अञ्जनलाई पढाईमा उस्तै रूचि थियो । आफूभन्दा माथिल्लो कक्षामा पढ्ने दाइको नेपाली किताबका कथा कण्ठ पार्थिन् । याद भएका कथा कक्षामा सुनाउँथिन् ।
लामाचौरमा २०४५ सालमा जन्मिएकी अञ्जनालाई आमाले बोकेर नै विद्यालय लैजाने-ल्याउने गरिन् । अञ्जनाले जीवनमा निकै आरोह-अवरोह भोगिन् । हेलाहोचोका पहाड नाघिन् । समाजको संघार नाघेर स्वावलम्बन बन्ने सपनामा लागिन् । आज उनै अञ्जना अपांगता भएकाहरूको हकअधिकारका अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइरहेकी छन् । स्नातकोत्तर तह (मास्टर्स) सक्दैछिन् । उनी हाल स्नातकोत्तर तहको चौथो सेमेस्टरमा अध्ययनरत छिन् ।
निरक्षर आमाले बोकेर स्कुल पुर्याइन्
अञ्जना कान्छी सन्तान हुन् । उनीअघि दुई दाजु र एक दिदी जन्मिए । दाजुहरूमा समस्या छैन । तर, जेठी दिदी पनि जन्मिँदै अपांगता भएर जन्मिइन् । १४ वर्षको उमेरमा संसार छाडिन् ।
अञ्जनाकी आमा रूपा निरक्षर हुन् । उनले विद्यालयको मुख देख्न पाइनन् । तर, उनी आफ्ना सन्तानलाई पढाउन चाहिन्थिन् । नपढेर आफूलेजस्तो दु:खका दिन भोग्न नपरोस् भन्ने थियो । र त समाजले खिसीट्युरी गर्दा पनि, निरुत्साहित गर्दा पनि हिम्मत हारिनन् । अपांगता भएकी अञ्जनालाई १२ कक्षा पढ्दासम्म आफैंले बोकेर स्कुल लैजाने-ल्याउने गरिन् ।
विद्यालय घरभन्दा केही पर माथि जंगलबीच थियो । हिँड्नै समस्या हुने अञ्जनालाई उकालो चढ्न त झन् समस्या नहुने कुरै भएन । घिस्रिएर त्यति टाढाको विद्यालय जाने कुरा कल्पना बाहिरको थियो । त्यसैले आमाले बोकेरै विद्यालय पुर्याइन् । आमाको हिम्मत र संघर्षले अञ्जनालाई प्रेरणा मिल्यो । पढ्ने हौसला बढ्यो ।
विभिन्न चुनौती पार गर्दै अञ्जनाको शैक्षिक जीवन चल्यो । उनी विद्यालय गएको छरछिमेकलाई मनै परेको थिएन । परिवारमा अनेक सुनाउँथे । आमालाई वचन लगाउँथे । 'पढेर के गर्छेस् ?' भनेर अञ्जनालाई समेत निरुत्साहित पार्न खोज्थे । तर, कुनै कुराले अञ्जनाको आमा-छोरीलाई असर गरेन ।
‘समयको बर्बादी हो भन्थे । बेक्कारको कोशिस हो भन्थे । पढाउर पनि भोलि केही गर्न सक्ने होइन भनेर सुनाउँथे’, अञ्जना तीन दिन सम्झिन्छन्, ‘परिवारका सदस्यलाई आमाका विरुद्ध भड्काइदिने गर्थे । अरु सन्तानलाई ध्यान नै दिन्न। उही अपांगता भएको छोरीलाई मात्र समय दिन्छे । यस्ता मान्छेलाई माया गरेर के काम भनेर सुनाउँथे ।’ तर, आमा रूपा विचलित भइनन् ।

अञ्जनाले १८ वर्षको उमेरमा पहिलोपटक ह्वीलचेयरको प्रयोग गरेकी हुन् । त्यो दिन उनलाई अझैपनि याद छ । ‘साँचो भन्नुपर्दा मैले मेरो अपांगता चाँडो स्वीकार गरेको नै होइन । म पहिलोपटक ह्वीलचियरमा बस्दा बिहानदेखि बेलुकासम्म रोएर मेरो आँखा सुन्निएको थियो’, अञ्जना भन्छिन् ।
जब एसएलसी उत्तीर्ण गरिन् ...
१० कक्षा पढ्दै गर्दा भविष्यमा के गर्ने भनेर साथीहरू योजना बनाउँथे । कोही कलेज पनि सँगै पढ्नुपर्छ भनेर सल्लाह गर्थे । एसएलसीपछि कम्प्युटर पढ्ने कुरा गर्थे । तर, अञ्जनलाई के गर्ने कसो गर्ने भन्ने आँट अझै थिए ।
‘एसएलसीपछि डिप्रेसन फिल भयो । सँगै पढेका साथीहरू अब छुट्टाछुट्टै हुन्छन् । कोही कम्प्युटर सिक्न जालान् । कोही केही गर्लान् । म यहीँ सीमित हुने भएँ जस्तो लाग्थ्यो’, अञ्जना भन्छिन् ।
उनको अन्तरद्वन्द्वको घ्युमा आगो थप्ने अरु विषय पनि थिए । उनको आमालाई निरुत्साहित गर्न छाडेका थिएनन् । तर, अञ्जनाका लागि समाजको वचन ‘इनर्जी’ बन्यो । आमाले समेत हिम्मत हारिनन् । एसएलसीपछि समेत नजिकैको विद्यालयमा छोरीलाई भर्ना गराइन् । उसैगरी बोकेर बिहान स्कुल छाड्थिन्। साँझ लिन जान्थिन् । अञ्जना दिनभर आमाले छोडिआएको ठाउँमा बसेर पढ्थिन् ।
अनि शुरू भयो जागिरे जीवन
१२ कक्षा पास गरेपछि अञ्जना पोखराको एउटा गैरसरकारी संस्थामा आवेदन दिन पुगिन् । जहाँ 'प्रोग्राम एसिसटेन्ट'को लागि आवेदन खुलेको थियो । अन्तर्वार्ता दिन पुगेकी अञ्जनालाई संस्थाले जागिर दिन मानेन । बरु, स्नातक पढ्का लागि छात्रवृत्ति दिने सुनायो । उनलाई एसिसटेन्टको पदमा ‘फिट’नभएको भनियो । तर, अञ्जनाले आफूले काम गरेर देखाउने चुनौती दिइन्।
उनको हिम्मत र छरितोपन देखेर संस्था उनलाई काम दिन मञ्जुर भयो । उक्त संस्थामा सन् २००९ मा अञ्जानले जागिरे जीवन शुरू गरिन् । तलब महिनाको सात हजार । अञ्जना तलब आएको दिन एकदम खुशी भइन् । उनले त्यो खुशीलाई अझै बिर्सिएकी छैनन् ।
‘मम्मी र सानीमालाई औंठी बनाइदिएको थिएँ । किनभने मेरो सानीमाले पनि मलाई पढाउनलाई धेरै नै लिंक बनाइदिनुभएको हो’, अञ्जना भन्छिन् ।
उनी पढ्दै जागिर गर्दै थिइन् । विस्तारै इन्टरनेटको सुविधा आयो । अञ्जनाले यसलाई सदुपयोग गरेर अन्तर्राष्ट्रियस्तरमा अवसर खोज्न शुरू गरिन् । फलत: २०१२ मा जापानको १० महिनाको छात्रवृत्तिका लागि नाम निकालिन् ।

जापानबाट फर्किएर आउँदा पहिले काम गरेकै संस्थाको तत्कालीन पश्चिमाञ्चलको क्षेत्रको कार्यक्रम अधिकृत भएर काम गर्न थालिन् । तर, उनलाई सन्तुष्टि मिलिरहेको थिएन । उनी आफ्नो लागि मात्र नभएर आफ्नोजस्तै समस्या भएका धेरैका लागि काम गर्न चाहन्थिन् ।
‘जापानबाट सिकेर आएको लिडरसिप भनेको अपांगता क्षेत्रमा हो । आफ्नो जीवन मात्र होइन, अपांगता भएका समुदायलाई पनि पनि हेर्नुपर्छ । म जत्तिको पढेलेखेको व्यक्तिलाई यति गाह्रो भयो भने अरुलाई कति गाह्रो होला ? त्यसैले मैले समुदायका लागि काम गर्नुपर्छ भन्ने लाग्यो’, अञ्जना भन्छिछन् ।
त्यसपछि उनी सन् २०१४ मा स्वालम्बन जीवन पद्धति केन्द्रमा जोडिइन् । जापानबाट अपांगता भएका १४ जनाको समूह आएको थियो । अञ्जनाको सम्बन्धले स्वालम्बनले प्रोजेक्ट पायो । अहिले उनी स्वालम्बनमा महासचिवको रूपमा कार्यरत छिन् । अपांगता भएका समुदायको हक अधिकारका लागि प्रदेश सरकारदेखि अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाइरहेकी छन् ।