२७ असार २०८३, शनिबार
नेपाल प्रिमियर लिग

पोखराको लज्जास्पद प्रदर्शन, चितवन ८७ रनले विजयी

मंसिर १८, २०८१
काठमाडौं
पोखराको लज्जास्पद प्रदर्शन, चितवन ८७ रनले विजयी

नेपाल प्रिमियर लिग (एनपीएल)मा लज्जास्पद प्रदर्शनका बीच पोखरा एभेन्जर्स चितवन राइनोजसँग ८७ रनले पराजित भएको छ ।

चितवनको घातक बलिङसामु पोखरा पूर्णरूपमा निरीह बन्यो । पोखराको पहिलो ओभरमै सोहेल तनवीरले तीन र चौथो ओभरमा रिजन ढकालले तीन विकेट लिएर पोखरामाथि हावी बने । 

पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै डक आउट भए । टिमको ४ रन स्कोर हुँदा दिलिप नाथ, ४ रनमै तेस्रो विकेट बस डी लिडे आउट भएका थिए । उक्त तीन वटै विकेट पाकिस्तानी बलर सोहेल तनवीरले लिएका थिए ।

चौथो ओभरमा आएका रिजन ढकालले पनि पुनः एकै ओभरमा तीन विकेट लिन सफल भए । ६ रनको स्कोरमा दिनेश खरेल चौथो विकेटको रूपमा आउट भए भने किरण ठगुन्ना पनि ७ रनको स्कोरमा पाँचौं विकेटको रूपमा आउट भए । त्यस पछि ७ रनकै स्कोरमा माइकल लिस्क र ७ रनकै स्कोरमा रेयमन रिफर पनि आउट भएका थिए ।

त्यसपछि १०.२ ओभरको खेलमा टिमको स्कोर ४७ रन हुँदा आठौं विकेटको रूपमा मार्क्स क्रिच्ले पनि १७ रन बनाएर पेवेलियन फर्किएका थिए । 

पोखराका लागि विपिन कार्कीले सर्वाधिक ३० रन बनाए । उनले ३ चौका र २ छक्कासहित २४ बलमा ३० रन बनाएर पोखरालाई केही राहत दिन खोजे पनि सफल भएनन् ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । चितवनका लागि इंगलिश खेलाडी रवि बोपाराले ३८ बलमा ३ चौका र ३ छक्काको मद्दतले ५१ रन बनाएर आउट भएका थिए ।

बोपराले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । उनको अर्धशतकीय पालीसँगै कप्तान कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरेका थिए ।

मल्लले १ चौका र ४ छक्कासहित २३ बलमा ३८ रन बनाएर आउट भएका थिए ।

चितवनले पहिलो पावरप्लेमा तीन विकेट गुमाएर ५० रन बनाएको थियो. त्यस पछि ११.३ ओभरमा १ सय रन पूरा गरेको थियो ।

१९.२ ओभरमा १५० रन पूरा गरेको चितवनले २० ओभरको खले सकिँदा १६१ रन बनाएर सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । हसन ऐशाखिलले १४ रन, दीपक बोहराले २ रन, लुक बेन्केस्टेनले १६ रन, सन्तोष कार्कीले ११ रन र सोहेल तनवीरले खाता नै नखोली आउट भएका थिए । शरद भेशावकर ११ रन र अमर राउटेला १३ रनमा अविजित रहे ।

पोखराका विपिन कार्की, लीडे र रायफरले समान २/२ विकेट लिए भने सागर ढकालले १ विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्