
रामजानकी विवाह पञ्चमीको अवसरमा अयोध्याबाट मंसिर १२ गते प्रस्थान गरेको जन्ती टोली मंगलबार जनकपुरधाम आइपुगेको छ ।
करिब पाँच सय साधुसन्तको समूह रहेको जन्ती टोली सोमबार राति महोत्तरीको मटिहानीमा विश्राम गरेर मंगलबार जनकपुरधाम प्रवेश गरेको हो ।
जनकपुरधाम आइपुगेका जन्तीलाई उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले औपचारिक रूपमा स्वागत गरे । यस क्रममा सडकका दुवै किनारामा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’को नारा लगाउँदै पुष्पवृष्टिका साथ जन्तीलाई सम्मान गरेका थिए ।
यसअघि महोत्तरीको मटिहानीमा नगरप्रमुख हरिप्रसाद मण्डलसहित नगरवासीले बाजागाजाका साथ भव्य स्वागत गरेका थिए । जन्तीको आगमनलाई भव्य बनाउन जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले नगरवासीलाई सहभागी हुन आग्रह गरे ।
'प्रत्येक पाँच वर्षमा अयोध्याबाट भगवान् श्रीरामको जन्ती जनकपुर आउँछ । यो हाम्रा लागि विशेष शौभाग्य हो । जन्तीको स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौं', महन्त दासले भने । उनले जन्तीका लागि चार दिनसम्म जनकपुरधाममा बसोबास र भोजनको सम्पूर्ण व्यवस्था मिलाइएको जानकारी दिए ।
२०६१ देखि शुरू भएको अयोध्याबाट जन्ती आउने परम्परा यस पटक चौथोपटक हो । प्रत्येक पाँच वर्षमा जन्ती जनकपुर आउने गरेको छ ।
सप्ताहव्यापी रूपमा मनाइने रामजानकी विवाह पञ्चमी महामहोत्सवको रौनकले जनकपुरधाम उत्सवमय बनेको छ । यही मंसिर १६ गतेदेखि शुरू भएको विवाह पञ्चमीमा पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला र तेस्रो दिन आज धनुषयज्ञ महोत्सव मनाइँदै छ ।
भारतको अयोध्यास्थित कारसेवकपुरमबाट प्रस्थान गरेका जन्ती बिहारको बक्सर, पाटलीपुत्र, हाजीपुर, काँटी, शिवहर, रुन्नी, सैदपुर, पनौराधाम, जानकी मन्दिर, पुपरी, अहिल्या हुँदै आइतबार भारतको विहारस्थित बेनीपट्टी आइपुगेको थियो । सोमबार साँझ बेनीपट्टीबाट मधवापुर हुँदै महोत्तरीको मटिहानी आएका जन्ती मंगलबार जनकपुरधाम पुगेका छन् ।