
चितवन, २६ कात्तिक - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका वडा नं १९ मा घटेको घटना इतिहासकै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् ।
आज साँझ पश्चिम चितवनको शारदानगरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचनका बेला वडा नं १९ मा भएको घटनाबाट शिक्षा लिँदै दोहोरिन दिन नहुनेमा जोड दिए । “वडा नं १९ नेपालको चर्चाको विषय बन्यो, १९ नं वडामा जुन घटना घट्यो, त्यो इतिहासकै दुर्भाग्यपूर्ण घटना हो, त्यसबाट हामीले शिक्षा लिनुपर्छ”–दाहालले भने , “त्यस्ता घटना दोहोरिन दिनु हुन्न ।”
स्थानीय तहको निर्वाचनका बेला भरतपुर–१९ को मतगणनाका क्रममा गणनास्थल मै मतपत्र च्यातिएको थियो । त्यसपछि यहाँ पुनः मतदान भएको थियो ।
चार दिनदेखि चितवनमा चुनावी अभियानमा सक्रिय भएका दाहालले आज चितवन निर्वाचन क्षेत्र नं ३ का विभिन्न १० ठाउँमा भएको चुनावीसभालाई सम्बोधन गरेका थिए ।
चुनावी सभालाई सम्बोधन गर्दै दाहालले नेपाली काँग्रेसलाई पनि विचार मिल्ने शक्तिहरुसँग गठबन्धन गरेर जान सुझाव समेत दिए ।