
काठमाडौं महानगरपालिकाले पछिल्लो समय पूर्वाधार अनुगमन कार्यलाई तीव्रता दिँदै आएको छ ।
उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन समितिले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमन कार्यलाई तीव्र बनाएको हो ।
पछिल्लो समय नियमित जसो अनुगमन गर्दै आएको उपप्रमुख डंगोल नेतृत्वको समितिले आज पुनर्निर्माण भइरहेको सानो गौचरण स्टेडियमको अनुगमन गरेको छ ।
करिब एक हप्ता अघि मात्रै शिलान्यास गरेर पुनर्निर्माण भइरहेको स्टेडियमको अनुगमन गर्न उपप्रमुख डंगोल आज शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित सानो गौचरण पुग्दा त्यहाँ काम धमाधम भइरहेको थियो ।
२२ करोड ९५ लाख ९३ हजार ९९९ लागत अनुमान गरिएको र बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ कबोल गरेर शुभ कन्स्ट्रक्सनले पुनर्निर्माणको गरिरहेको सो स्थानमा डंगोलसहितको अनुगमन टोली पुग्दा कतै गिटी–बालुवाका पहाड थिए भने कतै फलामहरू असरल्ल थिए । कामदारहरू काममा व्यस्त देखिन्थे ।
२०८२ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको निर्माणस्थलमा पूर्व जानकारीबिना नै डंगोलसहितको अनुगमन टोली त्यहाँ पुग्दा केहीबेर अन्योल छाएको थियो ।
प्राविधिकसहितको टोली लिएर डंगोल त्यहाँ पुगेपछि त्यहाँका राखिएका बालुवा, गिटी, रड सबैको अनुगमन गरिएको थियो । अनुगमनकै क्रममा त्यहाँ राखिएको बालुवा कम गुणस्तरको देखिएपछि उपप्रमुख डंगोलले तत्कालै निर्देशन दिँदै ढलान कार्यमा रोक लगाइन् । अन्य सामग्रीहरूको भने ल्याब टेस्ट गर्न पठाइएको थियो ।
‘२८ वटा चार पाङ्ग्रे र १ सय ७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ रहेको यो स्टेडियम १ हजार ५ सय दर्शक क्षमताको छ,’ डंगोलले भनिन्, ‘यो विशेष महत्वको संरचना पनि हो । त्यसैले हामीले यहाँ विशेष महत्व दिएर अनुगमन गरेका हौं ।’
डंगोलले पछिल्लो समय महानगरपालिकाले सडक, सडक किनारा, ढल निकास, भवनजस्ता भौतिक पूर्वाधारको गुणस्तरीयता र दिगोपनाका लागि पूर्वाधार अनुगमनलाई नियमित गर्दै आएको भन्दै सानो गौचरणको अनुगमन पनि नियमित भएको जानकारी दिइन् ।
‘हामी अनुगमनमा पूर्व जानकारीबिना नै जाने गरेका छौं । आज पनि हामी पूर्वजानकारीबिना नै त्यहाँ पुगेका थियौं । प्राविधिक टिमसहित त्यहाँ पुगेर अनुगमन गर्दा कम गुणस्तरको बालुवा राखेको पायौं । अनुगमनपछि त्यो बालुवा प्रयोग गरेर ढलान गर्न रोक लगाएका छौं,’ उनले भनिन्, ‘अन्य सामाग्री हामीले ल्याब टेस्टका लागि पठाएका छौं ।’
उनले अनुगमनको काम परियोजनाहरू सम्पन्न भएपछि मात्रै होइन परियोजनाहरू शुरू हुँदै गर्दा पनि गर्नुपर्छ र त्यसले गुणस्तरीय संरचना निर्माणमा सहयोग पुग्छ भनेर निर्माण पूर्व पनि अनुगमन नियमित गर्दै आएको जानकारी दिइन् ।
‘सानो गौचरणको नमूना मात्रै हो । हामीले अरु ठाउँमा पनि अनुगमनलाई नियमित गर्दै आएको हौं । सानो गौचरण अझ महत्त्वपूर्ण भएकाले त्यहाँ पनि गएका हौं,’ उनले भनिन् ।