
“मन्त्री ज्यू ! प्रविधिको प्रयोगले वाग्मतीको फोहर पानी पिउनयोग्य बनाउन सकिन्छ”, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसमक्ष आफूले बनाएको नमूना देखाउँदै इन्जिनियरिङ सङ्कायमा अध्ययनरत विद्यार्थीले भने । जवाफमा मन्त्री गुरुङले पनि उनीहरुको प्रसंशा गरे । “तपाईंहरुजस्ता युवाहरुको सिर्जनात्मक काम हेर्दा म आफैँ ऊर्जावान् महसुस गरिरहेको छु”, उनले भने ।
मन्त्री गुरुङको प्रशंसाले हर्षित विद्यार्थी सक्षम सिलवालले भने, “उहाँले प्रसंशा गरेपछि हामीलाई थप काम गर्ने प्रेरणा मिलेको छ ।” सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा इन्जिनियरर्स भल्ग्स्ले आजदेखि आयोजना गरेको तीनदिने ‘अर्विट इन्जिनियरिङ एक्स्पो टु प्वाइन्ट जिरो’को उद्घाटन र अवलोकन गरेका मन्त्री गुरुङले विद्यार्थीलाई हौसला दिनुका साथै सूचना प्रविधि क्षेत्रमा युवा पुस्ताले गर्नसक्ने सम्भावनाको समेत उजागर गरे ।
मन्त्री गुरुङले मन्त्रालय र सरकारले सूचना प्रविधिको विकासका लागि के कस्ता कार्ययोजना बनाउँदै छ भन्नेबारे जानकारी दिए ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले इन्जिनियरिङ कलेजका विद्यार्थीलाई हौसला प्रदान गर्न उनीहरुले सिर्जना गरेको कार्यको प्रत्यक्ष अवलोकन गरेर सुझाव दिए ।