
गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी थप सम्झौता कांग्रेससँगैको सहमतिमा गरेको बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन् ।
'नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण, सल्लाह र सहमति अनुसार भएको हो । यसमा अन्यथा सोच्न जरुरी छैन', उनले भने ।
गृहमन्त्री लेखकले मुलुकको समग्र विकास गर्नका लागि आर्थिक सहायता लिन आवश्यकता रहेको भन्दै बीआरआईमा ऋण लिने कुरा नभएको बताए ।
'कांग्रेसले ऋण लिन्न भनेर भनिसकेको छ । सम्माननीय प्रधानमन्त्रीजीले ऋण लिने कुरा भएको छैन भनिसक्नु भएको छ । अब यसको ठीक कार्यान्वयनमा लाग्नुपर्छ', गृहमन्त्री लेखकले भने ।
यस्तै, कांग्रेस र एमाले मिलेर बनेको राजनीति समीकरणको लक्ष्य भ्रष्टाचार नियन्त्रण, विकास र समृद्धि रहेको उनले बताए ।
'त्यस समीकरणको धरातलमा उभिएर संघ र प्रदेशमा सरकार गठन भएका छन् । यो समीकरण केही मान्छेलाई मन्त्री बनाउन बनेको होइन', उनले भने, 'यो स्थायित्वका लागि बनेको हो । यसले भ्रष्टचार नियन्त्रण, विकास र समृद्धिका लागि काम गरिरहेको छ । देशमा दीगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि यो समीकरण बनेको हो ।'
गृहमन्त्री लेखकले संघीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशितालाई थप उन्नत बनाउनका लागि संविधान संशोधन गरिने बताए । संविधान संशोधनका लागि आन्तरिक छलफल शुरू भइसकेको उनको भनाइ छ ।