२८ जेठ २०८३, बिहीबार
रविमाथि फेरि म्याद थपको तयारी

सूर्यदर्शनको अनुसन्धान अन्तिम चरणमा, सम्पत्ति शुद्धीकरणको अझै केही दिन लाग्ने

मंसिर २२, २०८१
काठमाडौं
सूर्यदर्शनको अनुसन्धान अन्तिम चरणमा, सम्पत्ति शुद्धीकरणको अझै केही दिन लाग्ने

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध फेरि म्याद थपको तयारी गरेको छ । मंसिर ९ गते जिल्ला अदालत कास्कीले दिएको १५ दिनको म्याद आइतबार सकिँदैछ । 

गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका रविलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ । 

रविका साझेदार एवं गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई प्रहरीले सहकारी ठगीको मुख्य आरोपी बनाएर मुद्दा दर्ता गर्ने तयारी गरेको छ । अर्का आरोपी नेपाल प्रहरीका पूर्व डीआइजी एवं गोर्खा मिडियाका उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई पनि मतियारकै रूपमा मुद्दा लैजाने तयारी रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले लोकान्तरलाई बताए । 

ती अधिकारीले भने,‘कास्कीको हकमा सूर्यदर्शन सहकारी ठगीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ, सम्पत्ति शुद्धीकरण, किर्ते र संगठित अपराधमा म्याद थप भएर अनुसन्धान भएकाले मुद्दा बुझाउन अझै केही दिन लाग्ने देखिन्छ ।’

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका रविले चार जिल्लाहरू क्रमशः कास्की, रुपन्देही, चितवन र काठमाडौंमा इन्कारी बयान दिएका छन् । तर, प्रहरीले फेला पारेका प्रमाणलाई उनले चित्तबुझ्दो जवाफ नदिएकै कारण अदालतले म्याद थप गर्दै आएको ती अनुसन्धान अधिकृतले बताए । 

रविले कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट लिएको ऋण आफ्नो नभई संस्थागत भएको बयान दिएका थिए । जबकी उनले स्वर्णलक्ष्मीबाट गोर्खा मिडियामा २ करोड २८ लाख ९८ हजार ४ सय ८० रूपैयाँ पेश्कीबापत लिएको देखिन्छ । 

सरकारी वकिलको प्रश्नमा रविले स्वर्णलक्ष्मीको सञ्चालक समितिको अध्यक्ष जीबी राई आफैं रहेको र उनले नै गोर्खा मिडियामा ऋण दिएको हुनसक्ने जवाफ दिएका थिए । रवि गोर्खा मिडियामा १५ प्रतिशत सेयर प्राप्त गरेकाले सहकारीको रकम ल्याएर अपचलन गर्दाको भागिदार उनीपनि हुने निष्कर्ष अनुसन्धान अधिकृतको छ।

स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रूपैयाँ चुक्ता गर्न बाँकी छ । 

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रूपैयाँ तिर्न बाँकी रहेको देखिन्छ । 

त्यसो त रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रवि आफैंले हस्ताक्षर गरेर बुझाएको ४० लाख ४२ हजारको चेक भेटिएको छ । सुप्रिमबाट गोर्खा मिडियामा साढे ६ करोड रूपैयाँ ऋण प्रवाह भएको थियो । 

रवि आफैंका नाममा समेत दुई करोड ऋण प्रवाह भएको देखिन्छ । सुप्रिमलाई तिरेको रकम रविले आफैंले लिएको ऋण हो वा गोर्खा मिडियाको ऋण हो भन्नेबारे तथ्य बाहिर आएको छैन । 

कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा रविको बैंक खातामा ३५ करोड र उनकी पत्नी निकिताको बैंक खातामा १५ करोड बढी कारोबारको विवरण फेला पारिसकेको छ । रवि र उनको परिवारका सदस्यको सम्पत्ति विवरण अझै केलाउने काम भइरहेको कास्कील प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं डीआईजी दानबहादुर कार्कीले जिल्ला अदालत पर्साबाट रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेकाले उनलाई बयानका लागि पर्सा पनि लैजाने बताए । 

उनले भने,‘कास्की प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । अब रविलाई पर्सास्थित सरकारी वकिल कार्यालयमा बयानका लागि पठाएर पुनः कास्की ल्याएपछि मुद्दा बुझाउने तयारी हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्