
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध फेरि म्याद थपको तयारी गरेको छ । मंसिर ९ गते जिल्ला अदालत कास्कीले दिएको १५ दिनको म्याद आइतबार सकिँदैछ ।
गत कात्तिक २ गते काठमाडौं वनस्थलीबाट पक्राउ परेका रविलाई यो बीचमा बयानका लागि कास्कीपछि रुपन्देही, काठमाडौं र चितवन लगिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, रुपन्देहीको सुप्रिम सहकारी र पर्साको सानोपाइला सहकारीको रकम गैरकानूनी तवरले गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ ।
यी सहकारीबाट गोर्खा मिडियामा ६५ करोड ५४ लाख रूपैयाँ गएको देखिन्छ । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रविलाई सहकारीको रकम अपचलनमा मतियार बनाइएको छ ।
००००
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक स्थिरता र सुशासनका निम्ति बनेको वर्तमान सरकार निरन्तर अगाडि बढ्ने बताएका छन् ।
कांग्रेस कोशी ‘प्रथम प्रदेश सम्मेलन’को शनिबार विराटनगरमा उद्घाटन गर्दै उनले सम्झौताअनुसार नै यो सरकार अगाडि बढ्ने स्पष्ट पारेका हुन् ।
००००
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल सरकार र चीनबीच हालै सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट पारेकी छन् ।
नेपाल सरकार र चीनबीच हालै भएको सो सम्झौताका बारेमा गहिरो अध्ययन नगरी हलुका रूपमा टिकाटिप्पणी भइरहेको उनको भनाइ छ ।
००००
गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी थप सम्झौता कांग्रेससँगैको सहमतिमा गरेको बताएका छन् ।
नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा सहभागी हुन विराटनगर पुगेका गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको बताएका हुन् ।
००००
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सबैको अथक प्रयासले अहिले न्यायालय एउटा लयमा फर्किएको बताएका छन् । काठमाडौंमा वरिष्ठ अधिवक्ताहरूलाई प्रमाणपत्र वितरण समारोहमा उनले लयमा फर्किएको न्यायालयलाई अब गरिमामय बनाउनुपर्नेमा जोड दिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले वामपन्थी शक्तिहरू एक नभएसम्म देश बन्न नसक्ने बताएका छन् ।
शनिबार जिल्लाको दूधपोखरी गाउँपालिकामा स्थानीय पालिका कमिटीको तेस्रो सम्मेलन उद्घाटन गर्दै उनले वामपन्थीहरू एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको रक्षा गर्नुपर्नेमा जोड दिएका हुन् ।
००००
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताएका छन् ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको शनिबार उद्घाटन गर्दै उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
००००
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारी कामकाजमा तथा कार्यालयमा स्वदेशमा उत्पादित वस्तुको प्रयोग अनिवार्य गर्नुपर्ने बताएका छन् ।
सोफा उत्पादक सङ्घको शनिबार प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले स्वदेशी वस्तुलाई देशमा खपत गर्न सकेमा आयात प्रतिस्थापनमा सहयोग पुग्ने र विदेशिने अर्थतन्त्रलाई स्वदेशमै परिचालन गर्न सकिने बताए । रोजगारी तथा राष्ट्रिय उत्पादन वृद्धि गर्न सरकारले कृषि, पर्यटन तथा पूर्वाधारलगायत उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने उनको भनाइ थियो ।
००००
स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई थप उपचारका लागि शनिबार भारतको नयाँ दिल्लीतर्फ लगिएको छ ।
नगरप्रमुख हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि नयाँ दिल्ली लगिएको जानकारी दिए ।
००००
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बिहान विराटनगरस्थित डा शेखर कोइरालाको निवास पुगे । शशांक कोइरालालाई सँगै लिएर गएका सभापति देउवाले कोइराला निवासमा चियागफ गरेर फर्किए । घरमा डा। शेखर कोइराला भने थिएनन् । उनीहरूलाई शेखरपत्नी पुनमले स्वागत गरिन् ।
शेखर भने चितवनमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरिसकेका थिए । उसो त उनले केही दिन पहिले कोशीमा आफूपक्षीय पालिका सभापतिहरूको भेला गरे । केन्द्रले प्रदेश सम्मेलनअघि कुनै कार्यक्रम नरहेको भनेर परिपत्र गरेपनि शेखर समूहले पालिका सभापतिहरूको भेला गरेको थियो । पालिका सभापतिहरूको भेलाका प्रमुख अतिथि बनेका उनै शेखर प्रदेश सम्मेलनमा भने सहभागी भएनन् ।
००००
चलचित्र पूर्णबहादुरको सारङ्गी सोमबारबाट सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ ।
सेभेन सिज सिनेमा परिवारले शनिबार एक विज्ञप्ति जारी गर्दै चलचित्र पूर्णबहादुरको सारङ्गी यही मंसिर २४ गतेदेखि सिनेमा हलहरूमा प्रदर्शन नगर्ने घोषणा गरेको छ।
००००
नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार भएको दोस्रो खेलमा कर्णाली याक्स ७ रनले विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १३४ रनको विजयी लक्ष्य पच्छ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १२६ रन मात्रै बनायो ।
००००
सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका १२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका ६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादवलाई पक्राउ गरेको हो ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हु्न् ।
००००
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको थियो । उनी सोही दिन बिहान अस्पताल भर्ना भएका थिए ।