२१ जेठ २०८३, बिहीबार
अनिश्चिततातर्फ धकेलिँदै आयोजना

बुटवल–नारायण सडक: प्रधानमन्त्रीको चीन भ्रमणका बेला सल्बलाएको निर्माण कम्पनी फेरि सेलायो

मंसिर २३, २०८१
बुटवल
बुटवल–नारायण सडक: प्रधानमन्त्रीको चीन भ्रमणका बेला सल्बलाएको निर्माण कम्पनी फेरि सेलायो

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा बुटवल–नारायणगढ सडक खण्ड एक वर्षभित्र (२०८३ मंसिरमा) पूरा हुने बताए ।

भ्रमणमा जानुपूर्व काम नगरी भागेर चीन पुगेको ठेकेदारलाई मंसिरभित्र काम शुरू नभए ठेक्का तोड्ने चेतावनी उनले दिएका थिए । 

कात्तिक अन्तिम साता रुपन्देही, नवलपरासी पूर्व र पश्चिमका जनप्रतिनिधिले सडक स्तरोन्नतिको काम छिटो सक्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । तर, काममा बदमासी गर्ने ठेकेदारले प्रधानमन्त्रीको चेतावनीको समेत वास्ता गरेको छैन ।

घाटा भएको कारण देखाउँदै वर्षायाम शुरू हुनुपूर्वदेखि निर्माण कम्पनीले रोकेको काम अझै अघि बढेको छैन । 

null

गएको असारदेखि सडक निर्माण ठप्पजस्तै छ । नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका प्रमुख सिनियर डिभिजन इन्जिनीयर शशांक मिश्रले ठेकेदारले काम अघि नबढाएको बताए ।

‘वर्षायाम शुरू हुनुभन्दा अघिसम्म दैनिक ८०० कामदारले काम गर्थे, अहिले ३०/४० जना मात्र देखिन्छन्, काम शुरू भयो भन्ने अवस्था छैन,’ मिश्रले लोकान्तरसँग भने, ‘निर्माणमा लस भयो भनेर काम गरेको छैन । यो कुरा माथि प्रधानमन्त्री तहबाटै भए पनि अहिलेसम्म फिल्डमा ठेकेदारले काम गरेको छैन ।’ 

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँमा ६ वर्षअघि ठेक्का लिएर निर्माण शुरू गरेको थियो । २०७९ साउन २२ गतेभित्र सक्ने गरी २०७५ चैतमा ८ मा यो आयोजनाको ठेक्का लगाइएको थियो ।

आयोजनाको अहिलेसम्म जम्मा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । विभिन्न स्थानमा निर्माण कम्पनीले सडक भत्काएर छाडेको छ । भत्काएको लामो समय बितिसक्दा पनि स्तरोन्नति नगर्दा यात्रुले हैरानी र घण्टौंको जाम झेल्नु परिरहेको छ ।

चाडपर्वका बेला दाउन्नेमा सडक भासिँदा यात्रुले पटक–पटक जामको सामना गर्नुपरेको थियो । ६ वर्षअघिको लागतमा काम गर्न समस्या भएको भन्दै चिनियाँ ठेकेदार कम्पनीले आलटाल गरिरहेको छ ।

सरकारकै कारण निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीले २ अर्ब अतिरिक्त पैसा माग गरेको बताए पनि आयोजनाका प्रतिनिधि यसबारे आफूलाई जानकारी नभएको बताउँछन् । 

null

आयोजनाको पूर्व खण्डका इन्जिनीयर शिव खनालले प्रधानमन्त्री चीन भ्रमणमा गएपछि विभिन्न ठाउँमा काम गरेजस्तो देखिए पनि अपेक्षाकृत काम हुन नसकेको बताए ।

‘पैसाको समस्या भयो भन्ने सुनिन्छ,’ इन्जिनीयर खनालले भने, ‘हामीलाई अहिलेसम्म यो विषयमा आधिकारिक रूपमा केही भनिएको छैन । पैसा म्यानेज गरेर काम गर्छौं भन्छन्, तर पनि प्रगति देखिने गरी काम भएको छैन । हेरौं, अबको हप्ता/दश दिनमा के हुन्छ ।’

पूर्व खण्डका तीनवटा ठूला र लामा पुल दुम्कीबास, अरुणखोला र चोरमारामा काम शुरू मात्र भएको छ । पूर्व खण्डमा ३३ किलोमिटर सडक एकतर्फी कालोपत्रे भएको छ । अबको एक वर्षभित्र कम्तीमा एकातर्फ भए पनि कालोपत्रे पूरा नगरे हामीले टर्मिनेट गर्छौं भनेका छौं ।’ 

सरकारले सडक खण्डको ठेक्काको म्याद २०७९ भदौमा पहिलोपटक, २०८० साउनमा दोस्रोपटक र २०८१ साउनमा तेस्रोपटक थप गरेको छ ।

null

तेस्रोपटक थपिएको म्यादअनुसार २०८२ साउन ८ सम्म काम सकिसक्नुपर्ने छ । तर, काम भने आधा बाँकी छ । ११५ किलोमिटरको यो सडक दुईवटा प्याकेजमा निर्माण हुँदैछ । नारायणगढ–दाउन्ने खण्ड पहिलो प्याकेज हो, जुन ६५ किलोमिटरको छ । त्यहाँबाट बुटवलसम्मको अर्को प्याकेजअन्तर्गत ४९ किलोमिटर निर्माण गरिनेछ । यी दुई खण्डमा फरक–फरक ठेक्कामा काम भइरहेको छ । 

बुटवल–नारायणगढ खण्डको पूरै भाग ४ लेनको हुनेछैन । दाउन्नेको उकालो/ओरालो भाग ३ लेनको मात्रै हुनेछ । दाउन्नेको झण्डै १२ किलोमिटर सडक ३ लेन मात्रै हुनेछ । ३ लेनमध्ये उकालोतर्फ २ लेन प्रयोग गरिनेछ । ओरालोतर्फ जाने सवारीले एक लेनमात्रै प्रयोग गर्नेछन् । दाउन्नेको उकालोको चढाई निकै असहज हुने भएकाले २ लेन दिन लागिएको आयोजनाले जनाएको छ । 

निर्माण कम्पनीका डेपुटी कन्ट्रयाक म्यानेजर योगेश श्रेष्ठले जनवरीमा चाइनाबाट रकम आएपछि काम अघि बढ्ने दाबी गरे ।

null

‘हामीले साइट रन मात्र गरेका छौं,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘जनवरीबाट काम हुन्छ । पूर्णरूपमा काम रोकिएको छैन । काम भइरहेको छ ।’

यो पश्चिम नेपालका लागि लाइ फलाइन सडक नै हो । दैनिक हजारौं यातायातका साधन र यात्रुहरू ठूलो जोखिम झेल्दै घण्टौंसम्म सडकमा बस्न बाध्य छन् । 

बुटवल–नारायणगढ सडक खण्ड रुपन्देही, पश्चिम नवलपरासी र नवलपुर जिल्लामा पर्छ । निर्माणमा चरम ढिलासुस्ती हुँदा सडकसँग जोडिएका गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, विनयी त्रिवेणी, बर्दघाट, सुनवल, देवदह, बुटवलका दर्जनौं पालिका, बस्ती र हजारौं नागरिक प्रभावित भएका छन् । 

सवारीसाधनको चाप हेर्ने हो भने यो सडक १ मिनेट पनि रोक्न नमिल्ने खालको छ । यो सडकमा दैनिक साना–ठूला गरी १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने इलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । सडक निर्माणमा अति विलम्ब हुँदा निजी क्षेत्र, यातायात व्यवसायी र स्थानीयले ठूलो मूल्य चुकाएका छन् । 

null

त्यसको कुनै लेखाजोखा हुन नसक्ने बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् । ठेकेदारले अब लगातार काम गरे १५ महिनाभित्र ‘प्रोजेक्ट’ सक्न कुनै समस्या नरहेको अर्यालको भनाइ छ ।

यो सडक भएर ६ वर्षदेखि यात्रा गर्ने यात्रुको नियति धुलाम्मे र हिलाम्मे छ । सरकारले समयमा समन्वय नगर्दा निर्माणमा ढिलाइ भएको र ठेकेदार कम्पनीले पनि सरकारलाई अटेरी गरिरहेको देखिन्छ ।

 

salt training

कमेन्ट गर्नुहोस्