
काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रूपैयाँ जरिवाना तिराउन पत्र काटेको विषय कार्यपालिका बैठकमा प्रवेश गरेको छ ।
आइतबार बसेको काठमाडौं महानगरको ३७औं कार्यपालिका बैठकमा एमालेका एक जनप्रतिनिधिले यो विषय उठाएका हुन्। एमालेलाई जरिवाना तिराउने भनेर काटिएको पत्रप्रति आक्रोश व्यक्त गर्दै काठमाडौं- २१ का वडाका अध्यक्ष उदयचूडामणि बज्राचार्यले महानगर नेतृत्वको चर्को आलोचना गरे ।
एमालेले कार्यक्रम गरेकै दिन काठमाडौं महानगरभित्र अरुले पनि कार्यक्रम गरेका तर, एमालेलाई मात्र जरिवानाको पत्र काट्नु पूर्वाग्रहपूर्ण रहेको बज्राचार्यले टिप्पणी गरे । उनले गणतन्त्रमा सबैले कार्यक्रम गर्न पाउने भन्दै मेयर बालेन्द्र शाह (बालेन)लाई गणतन्त्र विरोधी समेत भने ।
‘यहाँ हामी सबै गणतन्त्रवादी, लोकतन्त्रवादी हौं । हरेक ठाउँमा कार्यक्रम गर्न सकिन्छ । त्यही दिन पनि अरुले समेत कार्यक्रम गरेका थिए, अरुलाई किन पत्र काटिएन ?’, वडाध्यक्ष बज्राचार्यले कार्यपालिका बैठकमा भने, ‘एमालेलाई मात्र पूर्वाग्रही ढंगले किन पत्र काटियो ? यो नियोजित रूपले गएको देखियो । त्यसैले त्यो पत्र आजैको यस बैठकबाट खारेज गरियोस् । र, गणतन्त्रवादी विरोधी, व्यवस्था विरोधी चरित्र भएका व्यक्तिहरूलाई मुर्दावाद भन्न चाहन्छु ।’
उनले एमालेको कार्यक्रम नसकिँदै पत्र तयार पारेर पठाइएको आरोप लगाए । कार्यक्रमस्थलको सफाइका लागि उपप्रमुख सुनिता डंगोलले प्रमुख प्रकाशकीय अधिकृतलाई निर्देशन दिएपनि शुक्रबार भएकाले कर्मचारीले जान सक्दैनौं भनेको आफूले जानकारी पाएको बज्राचार्यले बताए ।
‘कार्यक्रम नसकिँदै एमालेलाई जरिवाना भनेर पत्र फेसबुकमा आयो । त्यो कसरी आयो ? कसको निर्देशनमा आयो ?’, वडाध्यक्ष बज्राचार्यले प्रश्न गरे ।
यही मंसिर ७ गते एमालेले दरबारमार्गमा गरेको सभापछि महानगरले एक लाख रूपैयाँ जरिवानाको पत्र काटेको थियो । तर, एमालेले अहिलेसम्म जरिवाना तिरेको छैन । मंसिर ९ गते जरिवानाको पत्र लिएर महानगरको टोली एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । तर, एमाले कार्यालयका प्रतिनिधिले पत्र बुझे पनि दर्ता गर्न नमानेपछि महानगरले हुलाक र इमेलमार्फत पत्र पठाएको थियो ।
दरबारमार्गस्थित खुला सडकमा जथाभावी फोहरमैला गरेको भन्दै महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवानाको निर्णय गरिएको उल्लेख गरेको छ ।
कार्यपालिका बैठकमा वडाध्यक्ष बज्राचार्यले उठाएको विषयमा मेयर बालेनले कुनै प्रतिक्रिया दिएनन् ।