
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसलाई १२४ रनको लक्ष्य दिएको छ ।
बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाएको हो ।
सुदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । ३७ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै, सैब जैबले २१ रन बनाए । २१ बल खेलेका उनले दुई छक्का प्रहार गरे ।
यसैगरी, इशान पाण्डेले १७ र ब्राण्डन मुलेनले १० रन बनाउँदा अरूले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमलाई कम रनमै रोक्न जनकपुरका किशोर महतोले एक्लैले चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर महत्वपूर्ण चार विकेट लिएका हुन् ।
यस्तै, शेर मल्ल र अर्निको यादवले समान दुई/दुई विकेट लिए भने हर्ष ठाकरले एक विकेट लिए ।
प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जीत निकालेको छ ।
पाँचौँ खेलमा सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जीतसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ ।
चारमध्ये तीन खेलमा जीत निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जीतसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र काठमाडौं गुर्खाज भिड्ने छन् ।