२४ असार २०८३, बुधबार

पहिलो पटक भारतबाट १० लाख लिटर मट्टितेल पाइप लाइनमार्फत नेपाल ल्याइयो

मंसिर २७, २०८१
काठमाडौं
पहिलो पटक भारतबाट १० लाख लिटर मट्टितेल पाइप लाइनमार्फत नेपाल ल्याइयो

पहिलो पटक भारतबाट पाइप लाइनमार्फत नेपालमा मट्टितेल ल्याइएको  छ । बुधबार मोतिहारी–अमलेखगञ्ज पाइप लाइनमार्फत भारतबाट पहिलोपटक मट्टीतेल नेपाल ल्याइएको हो  ।

बुधबार साँझ साढे ६ बजे नेपालमा पहिलो पटक मट्टितेल ल्याइएको नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलन्कर आचार्यले जानकारी दिए । 

परीक्षण ढुवानी अन्तर्गत १ हजार किलोलिटर अर्थात् १० लाख लिटर पाइप लाइनमार्फत ल्याइएको उनको भनाइ छ । 

बरौनी रिफाइनरीबाट मट्टितेल मोतिहारी–अमलेखगञ्ज पाइप लाइनमार्फत ल्याइएको हो  । मोतिहारीबाट बरौनी रिफाइनरीसम्म छुट्टै पाइप लाइन रहेको छ ।

‘परीक्षण ढुवानीअन्तर्गत पहिलो पटक मट्टितेल ल्याएका हौं । मट्टितेल ल्याउँदा कुनै कतै समस्या देखिएन’, उनले भने, ‘हामी मट्टीतेल ल्याउन सफल भएका छौं । अझै केही दिन यस्तो परीक्षण ढुवानी हुनेछ ।’

प्रादेशिक कार्यालय अमलेखगञ्जमा मट्टितेल भण्डारण गर्न १५ हजार किलोलिटर र ७६० किलोलिटरका दुई वटा स्टोरेज ट्यांकी छन् । पाइप लाइनबाट परीक्षण ढुवानी प्रतिघण्टा १५० देखि २५० किलोलिटरको दरले भइरहेको छ । यद्यपि, पाइप लाइनको इन्धन ल्याउन सक्ने क्षमता ३ सय किलोलिटर प्रतिघण्टा रहेको छ । 

इण्डियन आयल कर्पोरेशन (आईओसी) र नेपाल आयल निगमले पेट्रोल र मट्टितेल पाइप लाइनबाट ल्याउन परीक्षण ढुवानी गरिरहेको छ । डिजेल भने यस पाइप लाइनमार्फत नियमित रूपमा ल्याइँदै गरेको छ ।

गत असोज १७ गते आईओसीको प्राविधिक टोलीले पाइप लाइनबाट पेट्रोल ल्याएर टेस्टिङ गर्ने काम सम्पन्न गरेको थियो । भारतीय प्राविधिक टोलीले पाइप लाइनबाट ५ हजार ५ सय किलोलिटर (५५ लाख लिटर) पेट्रोल अमलेखगञ्जको डिपोमा खसालेर सफल परीक्षण गरेको थियो । 

यस पाइप लाइनमार्फत प्रतिदिन ६ हजार किलोलिटर पेट्रोल ल्याउन सकिन्छ । दक्षिण एसियामै पहिलो अन्तरदेशिय पाइप लाइन नेपाल–भारतको सीमामा मोतिहारी–अमलेखगञ्ज पाइप लाइन सञ्चालन छ । सन् २०१९ सेप्टेम्बरदेखि यो पाइप लाइन सञ्चालनमा आएको थियो । यस पाइप लाइनको लम्बाइ करिब ६९ किलोमिटर छ।

salt training

कमेन्ट गर्नुहोस्